• ४ आश्विन २०७७, आईतवार
आज लोकतन्त्र दिवस : राजाको सत्ता जनतामा आएको दिन
  • स्टुडियाे संवाददाता

 

लोकतन्त्र दिवस। मुलुकमा युगान्तकारी परिवर्तन भएको दिन। दोस्रो जनआन्दोलनमार्फत सार्वभौमसत्ता र राजकीय सत्ता जनतामै फर्केको दिन, वैशाख ११ गते। त्यही आन्दोलनको बलमा १० वर्षे सशस्त्र युद्ध समाप्ति। वंश शासन अन्त्य भई लोकतन्त्र स्थापना। संविधानसभामार्फत संविधान निर्माण। मुलुकमा लोकतन्त्र, शान्ति र स्थायित्वको सुरुवात। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

लोकतान्त्रिक आन्दोलनको अर्को एजेन्डा थियो, समृद्धि र विकास। तर १२ वर्ष बित्दा पनि यो एजेन्डा प्राथमिकतामा नपर्दा जनता निराश बन्न थालेका छन्। सोही आन्दोलनको जगमा धेरै काम भए। राजनीतिक स्थायित्व भई विकास र समृद्धिको मुद्दा अगाडि आउन थालेको छ। यद्यपि नेताहरूको व्यवहारबाट आमनागरिक सन्तुष्ट छैनन्।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल भन्छन्, ‘दोस्रो जनआन्दोलनकै जगमा मुलुकको राजनीति अघि बढिरहेको छ।’ संविधान निर्माणसँगै तीन चरणको निर्वाचन भए पनि जनतामा ‘डेलिभरी’ दिन नसकेको खनालको तर्क छ। ‘सिस्टमले डेलिभरी गर्न सकेको छैन,’ खनाल भन्छन्, ‘समय छ, यो सिस्टमले राम्रो नतिजा ल्यायो भने हामी ठोस रूपमै स्थायित्वमा जान्छौं।’

तत्कालीन सात दलमध्ये सद्भावना पार्टीका नेता भरतविमल यादव नेतामा लोकतान्त्रिक आचरण अभाव देखिएको बताउँछन्। नेताको चरित्रमा सुधार नभएसम्म लोकतन्त्रको वास्तविक उद्देश्य पूरा नहुने तर्क उनको छ। ‘जनआन्दोलन २ को लक्ष्य नेताहरूको आचरण र कार्यशैली सुधारको मुद्दा पनि थियो। तर नेताहरूमा लोकतान्त्रिक आचरणको अभाव छ’, यादवले भने, ‘लोकतन्त्रले निरंकुशता गयो। सामन्तवाद पनि सैद्धान्तिक रूपमा गयो तर व्यवहारमा त्यसको बिम्ब देखिँदैछ अझै पनि। नेताको चरित्रमा सुधार हुँदैन, तबसम्म लोकतन्त्रको उद्देश्य पूरा हुँदैन।’

  • ११ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech