• ३ आश्विन २०७७, शनिबार
३२ जिल्लाका प्राविधिकहरुद्वारा सामूहिक राजीनामाको घोषणा
  • स्टुडियाे संवाददाता

 

३२ जिल्लामा खटिएका राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका करिब चार हजार प्राविधिकहरुले आजैबाट लागू हुनेगरी सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण : प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । आफूहरुले अघि सारेका मागप्रति सरकार संवेदनशील नभएकोले बाध्य भएर सामूहिक राजीनामा दिएको समितिको जनाएको छ ।

समितिले गत चैत्र ३ गतेबाट देशव्यापी चरणबद्ध आन्दोलन गर्दै आएको थियो । तर, सरकारले चरणबद्ध आन्दोलन गर्दापनि जायज मागप्रति कुनै सुनुवाई नगरेको र उल्टै आफूहरुलाई सेवा सुविधाबाट बञ्चित गराएकोले बाध्य भएर सामूहिक राजीनामा दिनु परेको समितिका अध्यक्ष ई. अविनाश अमरले स्पष्ट पारे ।

नेपालको ईतिहासमै प्राविधिक जगतको सबैभन्दा ठूलो सडक संघर्षसमेत चैत्र १० गते काठमाडौंमा भएको समितिको भनाई छ । समितका अध्यक्ष अमरले भने, ‘सरकारले हामीलाई अन्यायमा पारेको कारणले हामी चरणबद्ध आन्दोलनमा थियौं । तर, धैर्यताको बाँध भत्किएकोले आजैको मितिबाट लागू हुनेगरि हामी ३२ जिल्लाका सम्पूर्ण प्राविधिकहरुले सामूहिक राजीनामा घोषणा गरेका छौं ।’

सरकारले आफूहरुको माग सुनुवाई नगरेसम्म काममा नफर्किने समेत उनले स्पष्ट पारे ।

यसअघि चैत्र १२ गते नेपाल ईन्जिनियर्स एशोसिएशनको मध्यस्थतामा प्राधिकरण र आफूहरुबीच सहमति भएर एक साताभित्र सबै माग पूरा गराउने प्रतिबद्धतासहित काममा फर्किएपनि सरकारले सहमति उल्लंघन गरेको पनि समितिको आरोप छ ।

कार्यक्रममा समितिका सचिव ई. राम मल्ल, समितिका उपाध्यक्ष ई. बलराम घिमिरे, सह–सचिव ई. नृपेश सापकोटालगायतले आफ्नो धारणा राखेका थिए ।

समितिले आफूहरुले खाईपाई आएको प्रोत्साहन भत्ता, भौगोलिक भत्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्ने लगायतका विभिन्न ५ बुँदे माग राख्दै आएको छ ।

  • १२ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech