• ५ आश्विन २०७७, सोमबार
त्रिपाठीले मन्त्री मागेपछि नेकपामा हाँसो
  • स्टुडियाे संवाददाता

 

तत्कालीन नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनाव जितेका हृदयश त्रिपाठीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एमव् प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईवटा महत्वपूर्ण पद माग गरेको खुलासा भएको छ । यूनाइटेड पोस्ट साप्ताहिकले समाचार छापेको छ ।

त्रिपाठीले मन्त्री र नेकपाको स्थायी समिति सदस्य पद माग गरेका हुन् । स्रोतका अनुसार त्रिपाठीले केही दिन अगाडि ओलीसँग भेटेर आफूलाई मन्त्री बनाउन आग्रह गरेका छन् ।
ओलीले स्पष्ट जवाफ दिएका छैनन् । त्रिपाठीले आफूलाई मात्रै पद मागेपछि अर्का सांसद बृजेशकुमार गुप्तालाई तनाब भएको छ । त्रिपाठीको भर परेर बसेका गुप्ता आफू एक्लैले केही गर्न सक्दैनन् ।

तराई मधेस लोकतान्त्रिक पार्टी छाड्ने बेला त्रिपाठीलाई गुप्ताले साथ दिएका थिए । एमालेको सूर्य चुनाव चिन्ह लिएर त्रिपाठी र गुप्ताले निर्वाचन जितेका थिए ।

नेकपाभित्र आफूले भने जस्तो भएन भने त्रिपाठी र गुप्ताले अर्को बिकल्प खोज्ने तयारी गरेका छन् । यद्यपि उनीहरू तत्काल कुनै बिकल्प खोज्ने छैनन् । सूर्य चिन्हबाट निर्वाचन जितेपछि त्रिपाठी र गुप्तालाई घाँडो भएको छ ।

निर्वाचन कानूनले गर्दा उनीहरूले नेकपालाई छाड्न पनि सक्दैनन् । अरु केही गर्ने अवस्था पनि छैन । नेकपाभित्रै बसेर मन्त्री र स्थायी समिति सदस्य पाउनका लागि त्रिपाठीले जोडजुलुम गरेका हुन् । गुप्ता पोलिटब्युरो सदस्यसम्म बन्ने योजनामा छन् । गुप्ता त्रिपाठीलाई छाडेर कतै नजाने पक्षमा छन् ।

नेकपामा हालै समायोजन गरेर नेताहरूलाई व्यवस्थापन गरिएको थियो । तर, त्रिपाठी र गुप्ताका जिल्ला नेताहरूलाई कुनै पनि स्थान दिइएन । आफ्ना नेता तथा कार्यकर्ताहरूलाई ठाउँ नदिएपछि त्रिपाठी र गुप्ता रिसाएका छन् ।

त्रिपाठीको कुराले नेकपाभित्र हाँसो हुन थालेको छ । नेकपाका एकजना नेताले भने, ‘वर्षौंदेखि पार्टीमा आवद्ध हाम्रो त कुनै माग पूरा हुन सकेको छैन, त्रिपाठी र गुप्तालाई केको हतारो ?’

  • १९ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech