• ६ आश्विन २०७७, मंगलवार
पुर्ख्यौली अंशमा शौचालय परेपछी…
  • स्टुडियाे संवाददाता

 

एक धुर जग्गा। त्यसमा ठडिएको छ सानो छाप्रो। गर्मीमा आगलागीको डर। वर्षामा चुहिएर हैरान। छानो टालटुल पारेर जीवन चलाएका छन्, धनुषा लक्ष्मीनिया गाउँपालिका–२ की पानोदास तत्माका तीन छोराका परिवारले।

अन्नपूर्ण पोस्टमा समाचार छ, एक धुरको त्यो टहरामा तीन वटा ढोका छन्। ढोकाजत्तिकै छ भित्र ठाउँ। एउटा ढोकाअगाडि शौचालय पुरिएको देखिन्छ। झुपडीमा तीनवटा ढोका लगाएर कोठा छुट्ट्याए पनि त्यसभित्र बस्न भने मुस्किल छ। तर, त्यसैमा खाना पकाइन्छ।

खुट्टा तन्काएर सुत्न ठाउँ छैन कोठाभित्र। पानोले जीवनभर सानो छाप्रोमा सन्तान हुर्काए। छोरा ठूला भएपछि छुट्टिए। घर बाँडफाँट भएपछि एउटाको भागमा शौचालय पर्यो। उनको परिवार त्यही शौचालय पुरेर कोठा बनाएर बसिरहेको छ।

शौचालय पुरिएपछि उनीहरू खुला चौरमा दिसापिसाब गर्छन्।
पानोदासका जेठा छोरा श्रीचन्द्रका २ छोरी, एक छोरा र पत्नी छन्। माहिलो चन्देश्वरकी पत्नी र एक छोरी गरी ३ जना र कान्छो विन्देश्वरका पत्नी र एक छोरी गरी तीनजना छन्।

पानोदासका तीन छोरा, तीन बुहारी र पाँच नातिनातिना गरी १२ जना त्यही सानो झुपडीमा कष्टपूर्ण गुजारा गर्दै आएका छन्।

बर्खामा झन् बिजोग हुन्छ। माथिबाट पानी चुहिन्छ, पानी पसेपछि उनीहरूलाई पाइला राख्नेसमेत ठाउँ हुँदैन। तैपनि, जेनतेन यसैमा गुजारा गरिरहेको पानोदास बताउँछन्।

गाउँलाई खुला दिसामुक्त गर्न सबैको घरमा शौचालय निर्माण गरिएको थियो। सोही क्रममा पानोको घरमा पनि शौचालय बनेको थियो। छोरा छुट्टिँदा जेठो छोराको अंशमा शौचालय परेपछि उनी त्यहीं बसिरहेको स्थानीय रामकरण दास बताउँछन्।

  • १९ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech