• २ आश्विन २०७७, शुक्रबार
डोल्पा पठाइएको हजार क्विन्टल चामल बाटोमै बिक्री, कर्मचारी र ठेकेदार मोटाए
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका–७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री गरेका हुन् ।

जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल पनि सर्मी डिपोमा पुगेको छैन । ‘तुल्सीपुरबाट आएको चामल बाटोमै बिक्री गरिएको छ, जुम्ला र सुर्खेतबाट ल्याउने चामल पनि पुगेको छैन,’ मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले भने, ‘गाउँमा चामल छैन ।’

 

सरकारी अनुदानमा उपलब्ध गराइने चामल ठेकेदारमार्फत ढुवानी हुने गरेको छ । यसपटक बिसी ट्रेडर्स, सल्यानलाई ठेक्का दिएको थियो । ठेकेदार जनक बुढाले खाद्य संस्थानका कर्मचारी मुकुन्द पनेरूको उपस्थितिमै एक हजार क्विन्टल चामल रुकुममा बिक्री गरेका हुन् ।

 

नेपाल खाद्य संस्थान, डोल्पाका प्रमुख कमलराज पाण्डेले बाटोमै चामल बिक्री भएको स्वीकारे । ‘यो वर्ष सर्मी डिपोका लागि दुई हजार क्विन्टल खाद्यान्न निर्धारण गरिएको र त्यसमध्ये एक हजार क्विन्टल चामल रुकुमको त्रिवेणीका बासिन्दालाई बिक्री गरिएको रहेको छ,’ पाण्डेले भने । मुड्केचुलाका बासिन्दाले चामल नपाएको गुनासो गरेको पाण्डेको भनाइ छ ।

 

‘अहिले सर्मी डिपोमा एक गेडा चामल पनि छैन,’ उनले भने । कर्मचारी, जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा चामल बिक्री पाइएको जनाएको छ । चामल बाटोमै बिक्री भएपछि सर्मीका बासिन्दा भने समस्यामा परेका छन् । उनीहरूले चामल खरिद गर्न नपाएको गुनासो गरेका छन् । मुड्केचुला गाउँपालिकामा खाद्यान्न उत्पादन हुँदैन । बाहिरबाटै आयात गर्नुको विकल्प छैन ।

  • २० बैशाख २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech