• ३ आश्विन २०७७, शनिबार
रेशम चौधरीको रिहाईको लागि सप्तरीमा थारु राष्ट्रिय भेला सम्पन्न : विभिन्न आन्दोलनको कार्यक्रम घोषणा
  • स्टुडियाे संवाददाता

 

रेशमलाल चौधरीसहित ११ जनाको रिहाईको माँग गर्दै रेशम चौधरी बचाऔं अभियान संघर्ष समितिले विभिन्न आन्दोलनको कार्यक्रमहरु घोषण गरेको छ । सप्तरीमा सम्पन्न थारु राष्ट्रिय भेलाले सात बुँदे घोषणापत्र र पाँच बुँदे आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ ।

सप्तरीको कंचनरुप नगरपालिका ७ बालुवामा सम्पन्न तीन दिने थारु राष्ट्रिय प्रशिक्षण भेलामार्फत सात बुँदे घोषणा पत्र र पाँच बुँदे आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो ।

टीकापुर घटना ‘व्यक्तिगत घटना’ नभई ‘राजनीतिक’ रहेको तर्कसहित सो मुद्दाको समाधान राजनीतिक सहमतिकै आधारमा खोजिनुपर्ने माग गर्दै तीन दिवसीय थारु राष्ट्रिय भेला शुक्रबार सम्पन्न भएको छ ।

राजविराजमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि समितिले राज थारुको संयोजकत्वमा १ सय १ सदस्यीय राष्ट्रिय संघर्ष समिति गठन गरि पाँच बुँदे आन्दोलन कार्यक्रम पनि सार्वजनिक गरेको छ । भेलाले रमाकान्त थारु (राज थारुको) संयोजकत्वमा १०१ सदस्यीय ‘रेशम चौधरी बचाऔं अभियान, नेपाल केन्द्रिय संघर्ष समिति’ गठन गर्नुका साथै टीकापुर घटनाको राजनीतिक समाधानका लगि पूर्वन्यायधीश गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

साँत बुँदे घोषणा पत्र् जारी गर्दै भेलाले विभिन्न जनजागरण, सचेतना र दबाबमुलक आन्दोलनको कार्यक्रम घोषण गरेको छ ।टीकापुर घटना छानबिनका लागि पूर्वन्ययाधिश गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्नुपर्ने, थरुहट आन्दोलन तथा टीकापुर घटनाका आन्दोलनकारीमाथी लगाइएको झुठा मुद्दा फिर्ता लिनुपर्ने ,थरुहट आन्दोलनका पीडित परिवारलाई आवश्यक क्षतिपूर्ती तथा थरुहट आन्दोलनका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका मुद्दा अविलम्ब संबोधन गर्नुपर्ने माग गरेको छ ।

विगत दशकमा देशमा अनेकौँ राजनीतिक क्रान्ति, विद्रोह र आन्दोलनहरू भएको र ती सबैको राजनीतिक रुपमा समाधान गरिए पनि थरुहट आन्दोलनलाई मात्र शुद्ध आतंककारी घटनाको रुपमा हेरिनु राज्यको थारुमाथिको अन्यायपूर्ण व्यवहार भएको आरोपसमेत भेलाका सहभागीहरूले लगाएका छन् ।

थरुहट आन्दोलन तथा टीकापुर घटनाका आन्दोलनकारीहरु माथि लगाइएका सम्पुर्ण झुठा मुद्दाहरु फिर्ता लिन माग गर्दै भेललाले ०७२ भाद्र ८ गते थारुहरुको घर, पसल जलाउने तथा थारुमाथि ज्यादति गर्नेहरुलाई पक्राउ गरी कानुनी कार्वाही गर्न माग गरेको छ ।

घोषित कार्यक्रमअनुसार रेशम चौधरी बचाऔँ अभियान अन्तर्गत यही वैशाख २८ गते शनिबारबाट पुर्व झापादेखि पश्चिम कन्चनपुरसम्म संगठन निर्माण तथा सचेतना अभियान निरन्तर रुपमा मेची–महाकाली जनजागरण अभियानको रुपमा संचालन गरिने छ ।

पाँच बुँदे आन्दोलन कार्यक्रम अन्तरगत आगामी जेठ १५ गते प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्री तथा सभामुखलाई, मानवअधिकार आयोग, कुटनीतिक नियोग तथा विकासीय नियोग, राजनीतिक दल तथा माग मुद्दा मिल्ने अन्य सरोकारवालाहरूसँग टीकापुर घटनाको बारेमा ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम भेलाले तय गरेको छ ।

त्यसैगरी प्रदेशस्तरीय तथा काठमाडौंकेन्द्रित जनसभा तथा अन्य दबामूलक कार्यक्रमहरू आयोजना गरिने छन् । यस्तै, थरुहट आन्दोलनका पीडित परिवार तथा सहिद परिवारलाई न्यायोचित क्षतिपुर्तिको व्यवस्था गर्नुका साथै थरुहट आन्दोलनको क्रममा नेपाल सरकार र आन्दोनकारीहरु बीचमा भए–गरेका सहमति सम्झौताहरू कार्यान्वयन गर्न माग गरिएको छ ।

तीन दिनसम्म चलेको भेलामा बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ्ग, कपिलबस्तु, चितवन, बारा, पर्सा, नवलपरासी, मकवानपुर, सुनसरी, मोरङ्ग, झापा र सप्तरी लगायतका जिल्लाका थारु कल्याणकारी सभा र नौं वटा भातृ संगठनका प्रतिनिधी तथा थारु अगुवाहरुको बृहत् थारु राष्ट्रिय भेलाको सहभागी थियो ।

  • २९ बैशाख २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech