• ३ आश्विन २०७७, शनिबार
संविधान संशाेधन नभए सडक संघर्षमा जाने : उपप्रधानमन्त्री यादव
  • स्टुडियाे संवाददाता

 

सप्तरी जिल्लाबाट निर्वाचित उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारले संविधान संशाेधन नगरे सडक तताउने चेतावनी दिएका छन्।

नयाँ शक्ति नेपाल पार्टी र संघीय समाजवादी फोरम बैशाख २३ गते एकीकरण भएपछि पहिलो पटक पोखरामा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो चेतावनी दिएका हुन्।

संविधान संशाेधन गरी सच्याउन र पाएको अधिकारका लागि रक्षा गर्न सरकारमा गएको उनको भनाई थियो। उनले आफ्नो पार्टी सामेल भएरै दुई तिहाइको सरकार बनेको भन्दै संविधान संशाेधन गर्ने सही समय आएको पनि बताए। अहिलेको नागरिकता ऐन फन्टुस र जाली झेँली रहेको उपेन्द्रको आरोप छ। ‘

नेपालीको सन्तानले नागरिकता पाउनैपर्छ’, ‘तराइको विषय कोट्याउँदै उनले भने, ‘हाम्रोतिर वारि पारि विवाह गर्ने चलन छ।बाउ नेपाली नागरिक, आमाले पनि त्यही आधारमा नागरिकता पाउँछ। छोराले पाउँदैन। यहाँको नागरिक नभए कहाँको नागरिक त? यो संस्कारको अन्त्य हुनुपर्छ। नेपाली नागरिकका सन्तान नेपाली नागरिक नै हुन्। कोही पनि नेपाली नागरिकताविहीन हुनु हुँदैन। राष्ट्रियताविना कोही पनि रहन सक्दैन।’

उनले भने, ‘हाम्रो संघर्ष, संसदको माध्यमबाट हो। अहिलेको संविधानमा धेरै विकृति र विसंगति छ। त्रुटिहरू छन्।कमी कम्जोरी छ। यसलाई संशाेधनको माध्यमबाट सच्याउन सुधार्न। सुधार्छु भन्या छ। सहमति सम्झौता भएको छ।संशाेधन गरेर संविधान सच्याउनुपर्छ। त्यस आधारमा हामीले सरकारमा सहभागी भएका हौँ।’

‘हामी सामेल भएरै सरकारलाई दुई तिहाइ पुर्याएको संविधान संशाेधन गर्नका लागि नै हो। अब त्यो सहमति र सम्झौता कार्यान्वयन गर्ने बेला आएको छ। त्यसमा अगाडि बढ्नुपर्छ। आफूले गरेको बचन आफूले गरेको हस्ताक्षर र प्रतिवद्धतामा उभिनुपर्छ। फेरि आफैँले दिएको बचन, गरेको प्रतिवद्धता गरेको सम्झौतामा उभिँदैनन् भने जनताले के भन्ने त्यसलाई त्यो पनि समय आउँदै छ।’

‘संविधान संशाेधन गरे हाम्रो साथ छ। भएन भने गर्दै गरेन भने हामी फेरि दोस्रो बाटो प्रयोग गर्छौं’, उनले भने, ‘अहिलेको पहिलो बाटो हो। दोस्रो बाटो भनेको सडक संघर्षको बाटो हो। सडक संघर्षको बाटो नै हाम्रो मुख्य बाटो हो। यसमा कोही भ्रममा नपरौँ।’

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech