• १२ मंसिर २०७७, शुक्रबार
ओलीको नेतृत्वमा सरकार बन्नु नै प्राकृतिक हुन्छ – कांग्रेस नेता घिमिरे
  • स्टुडियाे संवाददाता

स्थानीय चुनावदेखि कांग्रेसलाई रक्षात्मक बनाउँदै आक्रामक अभियानमा लागेको नेकपा एमालेले सत्ता सहयात्री माओवादी केन्द्रलाई खोसेर लैजाँदासमेत कांग्रेस नेतृत्व बेखबर बन्यो । प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोगले शहरी जनमत कांग्रेसको विपक्षमा गइसकेको थियो, जसको परिणाम काठमाडौं महानगरलगायत देशका ठूला शहरहरुमा माओवादीसँग मिल्न पनि कांग्रेस पराजित भयो ।
आइजीपी नियुक्ति प्रकणको अपजश पनि कांग्रेसको थाप्लोमा आइलग्यो । राज्यकोषबाट करोडौं रुपैयाँ बाँडेको कुरा विपक्षीले जसरी प्रचारमा लगे, कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्न सकिएन । पार्टीभित्र टिकट वितरणमा चरम लापरवाही र पैसाको चलखेलसम्म भयो । कांग्रेस हार्नुमा यी र यस्तै धेरै कारणहरु निणर्ायक बने र अझै नसुधि्रने हो भने झन ठूलो दर्भाग्यको सामना गर्नुपर्नेछ ।
समग्रमा कांग्रेसभित्र अहिले युवा नेताहरुले गरेको बहसको संश्लेषण यही हो । यही बहसको आलोकमा उभिएर कांग्रेस केन्द्रीय कार्यसमितिका ७ जना प्रभावशाली युवा नेताहरुले संयुक्त विज्ञप्तिमार्फत केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन नेतृत्वलाई दबाव दिएका छन् । उनीहरुले पार्टी हारको समीक्षा र अब आउने चुनावहरुमा जित्ने रणनीतिसहित नयाँ ढंगबाट अघि बढ्न नेतृत्वलाई आग्रह गरेका छन् ।
तीनै ७ भाइमध्येका एक कांग्रेस केन्द्रीय सदस्य तथा नेवि संघका पूर्वअध्यक्ष गुरुराज घिमिरेसँग कुरा गरिएकाे छ । उनले संविधान जारी भएपछि एमालेसँगको सहकार्य तोडेर केपी ओलीसँग सुशील कोइरालाले प्रधानमन्त्रीमा प्रतस्पिर्धा गरेकै दिनदेखि कांग्रेसको अधोगति शुरु भएको निष्कर्ष सुनाए ।
अहिले वामपन्थी गठबन्धनको मुख्य नेताका रुपमा केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा देख्न जनताले चाहेकोले कांग्रेसले जनादेश स्वीकार गरेर प्रतिपक्षमा बस्नुपर्ने उनको सुझाव छ । प्रस्तुत छ, घिमिरेसँग गरिएको संवाद

कांग्रेसले चुनाव हारेपछि यसका कारणबारे धेरै बहस भइसकेको छ, तपाईहरु सात भाइको वक्तव्य चाहिँ पोखरीमा ढुंगा हाने जस्तो मात्रै हो कि,केही अपेक्षा पनि छ ?
संविधान जारी भएपछि हामीले गरेको ऐतिहासिक राजनीतिक काम संस्थागत भएको छ । तिनै तहका चुनाव सम्पन्न भएका छन् कांग्रेसको नेतृत्वमा । यसमा हामीलाई गौरवबोध छ । हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा यो सम्पन्न भयो । तर, यो ऐतिहासिक निर्वाचन हामीले जुन अपेक्षा गरेका थियौं, त्यो स्तरमा हामीले जित्न सकेनौं । यसका केही सतहमा आएका कारण छन्, केही आन्तरिक कारण छन् ।
देशभरिका साथीहरुमा एउटा चिन्ता छाएको छ, अब पार्टी कसरी अघि बढ्छ र आगामी चुनौतिको सामना कसरी गर्छ भन्ने चिन्ता पार्टीका साथीहरुले हामीसँग गरेका छन् । हामीले निर्वाचन परिणाम आउने क्रम शुरु भएपछि हामीले धेरै छलफल गर्‍यौं । अब हामीले सामूहिकरुपमा बोल्नुपर्‍यो, पार्टी नेतृत्वलाई आग्रह गर्नुपर्‍यो र पार्टीभित्र गम्भीर समीक्षा आवश्यक छ भन्ने लाग्यो र पहिलो चरणमा विज्ञप्ति जारी गरेका हौं ।

सात जनामात्र यसमा सहमत हुनुभएको हो ?
शुरुमा छलफलको क्रममा भेट भएजति साथीहरु,अरु साथीहरुसँग पनि कुरा भएको छ । उहाँहरुले हाम्रो आधारपत्र सहित ठूलो दायरमा जानुपर्छ भन्ने कुरा गर्नुभयो । त्यसबारे पनि गृहकार्य आन्तरिक रुपमा चलिरहेको छ ।
अहिले सात जनाको विज्ञप्ति आएको छ,यो सातजना साथीहरुले एउटा विज्ञप्ति दिइहालौं,यसबाट प्रारम्भ हुन्छ र देशभरका कार्यकर्तामा कांग्रेसले केही गर्छ भन्ने उत्साह छाउछ र अहिलेको निराशा चिर्न पार्टीका युवा नेताले नेतृत्वलिन्छन् भन्ने हुन्छ भनेर केन्द्रीय समिति र महासमिति बैठक बोलाउन आग्रह गरेका हौं ।

तपाईहरुको माग सम्बोधन भयो भने पनि यसबाट के परिवर्तन ल्याउन सक्नुहुन्छ ?
पार्टीको सर्बोच्च निकाय महाधिवेशन हो । नेतृत्व परिवर्तन बाहेक सबै काम महासमितिले गर्छ । समय सापेक्षा नीतिमा परिवर्तन, विधान संशोधन लगायतका कामहरु महासमितिले गर्छ । केन्द्रीय समितिको बैठक प्रमुख कार्यकारी निकाय भएकाले यसमा समीक्षा गरौं भन्ने हाम्रो आग्रह । यसको बैठक राखेर नेताहरुका विचार र देशभरबाट आएका सुझावहरुका आधारमा पार्टीलाई कुन बाटोमा लैजाने भनेर पार्टीमा छलफल गर्नुपर्छ भन्ने हामीलाई लाग्यो । सबैभन्दा पहिला केन्द्रीय समितिमा आन्तरिक कमजोरीको वस्तुनिष्ठ समीक्षा गरौं भन्ने आग्रह हो ।

कांग्रेस सभापति आफैं प्रधानमन्त्री भएर चुनाव गराउँदा पनि कांग्रेसले नराम्रो पराजय भोग्यो, सिंगल-सिंगल लड्दा पनि कांग्रेसभन्दा एमाले नै बलियो देखियो, यो जिम्मेवारीबोध गरेर नेतृत्वले नैतिकतामा आधारमा छाड्नुपर्ने होइन र ? यो अभ्यास त एमालेमा माधव नेपालले पनि गरेकै हुन् नि ?
लामो प्रजातान्त्रिक अभ्यास गर्ने अवसर नेपालले प्राप्त गरेन । लामो अभ्यासबाट परिमार्जित र सम्बृद्ध प्रजातन्त्रको अनुभव छैन । नेतृत्वमा पनि त्यो संस्कार छैन । त्यसैले नैतिकतामा आधारमा छाड्ने कुरामा यति नै भनौं ।
हामी सरकारमा थियौं,सरकारमा रहेर निर्वाचन गरायौं । हामीले मधेश र पहाडलाई जोड्यौं र राष्टिय एकता कायम पराख्न सफल भयौं तर चुनाव चाहिँ हार्‍यौं ।

मधेस र पहाड जोड्यौं भन्नुभयो, तर दुवैतिर चुनाव हार्नुभयो नि ?
विल्कुल सही हो । चुनावमा पहाड पनि हामीले गुमायौं, तराईमा पनि हाम्रो आधार नराम्रोसँग खस्कियो । हामीले आधार क्षेत्र भनेको मधेशमै हामीभन्दा एमाले अगाडि गयो । हामीले हाम्रो आधारभूमी गुमायौं । हामीले पार्टी चलाउने तरिकामा, मुद्दा निर्माण, प्रचार रणनीतिमा कमी कमजोरी रहेको निर्वाचन परिणामले प्रष्ट पारिसक्यो । यति हुँदा पनि सरकार हस्तान्तरणको दायित्व पनि हामीसँग बाँकी नै छ । यसपछि हामीले हाम्रा हारका कारणको समीक्षा गर्दै आगामी निर्वाचनको तयारी अहिलेेदेखि नै गर्नु आवश्यक छ । त्यसका लागि समीक्षा गर्न पहिले त केन्द्रीय समिति बैठकमा आवश्यक छ ।

हो यही कमजोरीको जिम्मेवारीचाहिँ सभापतिले लिनुपर्ने होइन ?
पार्टी सभापतिलाई मात्र जिम्मेवार बनाएर अरु नेता पन्छिन मिल्दैन । ०४८ देखि लगातार मन्त्री भएका र पार्टीको ओहोदामा बसेकाहरुले पनि जिम्मेवारी लिनुपर्छ । उहाँहरुले लिनुहुन्छ कि लिनुहुन्न ? संसदीय बोर्डमा बस्ने २४ जनाले पनि जिम्मा लिनुपर्छ । हामी सातजनाको प्रश्न देउवालाई मात्र होइन, मन्त्री र केसमा लामो समय बस्ने, संसदीय बोर्डमा बस्ने र पटक-पटक दोहोरिने नेताहरुलाई पनि हो ।

केपी ओलीको नेतृत्वमा एमालेले सबै चुनाव जित्यो तर एमालेमा तपाईहरुकै जनेरेशनका नेताहरु अब ओलीले मण्डेला बन्नेतिर लागे हुन्छ भन्ने सुझाव दिँदैछन्,तपाईहरुमा त्यो आँट पनि देखिएन है ?
त्यस्ता कुराहरु पनि सार्वजनिक रुपमा उठेका छन् । केही साथीहरुले राजीनामाका कुरा पनि उठाउनुभएको छ । हाम्रोमा लामो समय जेल जानुभएका, प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा संघर्ष गर्नुभएका, प्रवासमा बस्नुभएका नेताहरु नेतृत्वमा छन् । हाम्रो भन्ने तरिका पनि बिनम्रतापूर्वक नै भन्छौं । विस्तारै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुस् भनेका छौं ।

देउवा मण्डेला होइन मुगावे बन्नेतिर पो गए कि ?
त्यो त सोच्न सकिन्न ।

होइन, आफूपछि श्रीमतीलाई स्थापित गर्ने सन्दर्भमा नि ?
हाम्रा नेताहरु त्यस्तो बन्छन् भन्ने सोच्दैनौं । आफूपछि श्रीमतीलाई बनाउने खलनायकी चरित्र कांग्रेसमात्र होइन, अरु नेताबाट पनि यस्तो प्रदर्शन हुने छैन भन्ने लाग्छ ।

त्यसोभए अहिले तपाईहरुले शेरबहादुर र रामचन्द्रको विकल्प खोज्नुभएको होइन ?
हाम्रो आशय, विकल्प त समयले दिइहाल्छ । भोलि केन्द्रीय कार्यसमितिमा हुने बहस र महासमितिमा हुने बहसले एउटा दिशा लिन्छ । हामीले गरेका कमजोरी स्वीकार गरौं । आपसी छलफलबाट के के कमजोरी भएर चुनाव हार्‍यौं भन्ने समग्रमा समीक्षा गरौं । पार्टी संस्थागत रुपमा परिचालन नभएको, भातृ संस्थाहरुको निश्त्रिmयता लगायतका कुराको निर्मम समीक्षा गरेर विकल्प तयार गर्ने हो ।

अब अर्को प्रसंगमा जाउँ, तपाईले अघि भन्नुभयो वामपन्थी गठबन्धनले गर्दा हारियो भनेर, माओवादीलाई आफूसँगै राख्न नसक्नुमा कसको दोष त ?
वास्तवमा माओवादीसँग जसरी हामीले सरकारमा सँगै बस्यौं र स्थानीय चुनावमा सँगै गयौं, यदि यो चुनावमा पनि माओवादीलाई सँगै लान सकेको भए यसरी हार्ने थिएनौं । स्थानीय तहमा हामी मिलेर जाँदा र एमालेसँग प्रतिस्पर्धा गर्दा राम्रै भएको थियो, अहिले माओवादीले एमालेसँग मिलेर फाइदा लियो । हाम्रो कमजोरी वा माओवादीको अवसरवादी नीति के कारणले हो, चुनावी गठबन्धन हुन सकेन । माओवादी केन्द्रसँग निर्वाचनमा गठबन्धन गर्न सकेको भए यति ठूलो क्षति हुने थिएन । थोरबहुमत एमाले अगाडि हुन्थ्यो होला तर यस्तो क्षति हुने थिएन ।

तपाईहरुलाई केपी ओलीले छक्याए होइन त ?
माओवादी र एमालेको विगतको तीक्तता हेर्दा यसरी चुनावमा मिल्लान् र पार्टी एकता नै गर्लान् भन्ने लागेको थिएन । प्रचण्डले दुवैतिर गठबन्धनको प्रस्ताव राख्नुभएको रहेछ । यताबाट फाइदा नभएर एमालेतिर जानुभयो, उहाँको बुद्धिमत्ता नै होला यसमा ।
जहाँसम्म केपी ओलीले छक्याएको कुरा छ, ओली एउटा राजनीतिक खेलाडी हो । एउटा ठूलो पार्टीको अध्यक्षले आफ्नो पार्टीलाई जिताउन रणनीति बनाउने कुरा त सामान्य हो ।

कुनैबेला विशेष गरी शान्ति प्रक्रियापछि कांग्रेसका धेरै नेता कार्यकर्ताले आफ्ना नेताभन्दा केपी ओलीलाई आफ्नो संरक्षक जस्तो ठान्थे, तर अहिले यति ठूलो तिक्तता किन भयो होला ?
यो संविधान जारी भएपछि सरकार बदल्ने ठाउँमा हामी पुगेपछि समस्या आयो । केपी ओली प्रधानमन्त्री हुने बेलामा हाम्रा नेताले आफैं प्रतिस्पर्धा गर्ने बाटो अंगीकार गर्नुभयो, त्यहाँबाट नेपाली राजनीतिमा समस्या आयो । त्यो कदम सही प्रमाणित भएन । त्यसका प्रभाव र परिणामहरु सतहमा देखिन थालेका छन् । सहकार्य र सहमतिबाट नेपाली राजनीति अघि बढाउने हाम्रो प्रयास कमजोर भयो । संविधान जारी भएपछि एमालेसँग सहकार्य तोड्नु कांग्रेसको भूल भयो,त्यसको मूल्य हामी चुकाउँदैछौं । अब हामीले जनादेश स्वीकार गरेर सत्ता हस्तान्तरण गर्दै मुलुकलाई अघि बढाउन कांग्रेसले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।

तपाई सत्ता हस्तान्तरणको कुरा गर्दै हुनुहुन्छ, तर कांग्रेसभित्रैबाट प्रचण्डलाई ५ वर्षका लागि लेखेरै दिने प्रस्ताव गइरहेको छ नि ?
बिल्कुलै त्यो बाटोमा कांग्रेस लाग्नुहुदैन । कोही व्यक्ति लाग्छ यो बाटोमा भने, त्यो राजनीतिक रुपमा अर्को ठूलो भूल हुनेछ । अहिले सरकार चलाउने जनादेश प्राप्त पार्टी नेकपा एमाले र त्यस पार्टीका अध्यक्ष केपी शर्मा ओली नै हुन् । हामी एमाले र माओवादी एकीकरण नै होस, एमालेकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्छौं ।
एमाले पहिलो पार्टी हो, जनादेश केपी ओलीकै नेतृत्वमा आएको हो । लामो समयदेखि एमालेले काम गर्न अवसर पाएनौं भनिरहेको छ, उसलाई अवसर दिउँ । अहिले सरकार बनाउन जनादेश बामपन्थी गठबन्धनलाई हक दिएको छ, त्यसका पनि प्रमुख हकदार केपी ओली नै हुनुहुन्छ । उहाँलाई जनताले प्रधानमन्त्रीका रुपमा हेर्न चाहेको कुरा हामीले स्वीकार गर्नुपर्छ । सत्ता हस्तान्तरणमा चाहिँ एमालेले आशंका गर्नु हुँदैन । प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्ने हो, प्रधानमन्त्रीको कुर्सी चौतारामा लगेर बुझाउने त होइन नि ।

तर, पनि कांग्रेसबाट वामपन्थी गठबन्धन तोड्ने प्रयास त शुरु भयो नि होइन ?
मेरो व्यक्तिगत धारणा हो, पार्टीले पनि जनादेशलाई नै स्वीकार गरेर अघि बढ्नुपर्छ । यदि माओवादीकै नेतृत्वमा सरकार बनाउने कुरामा कांग्रेसले पहल लिन्छ भने त्यो ठीक होइन । जनताले एमालेलाई ८० ठाउँमा जिताएर समानुपातिकमा ४१ सिट जिताएर १२१ सिट सहित एमालेकै नेतृत्वमा सरकार हेर्न चाहेको प्रष्ट भएको छ । अब भोलि प्रचण्ड उछिटिएर कांग्रेसतिर आउनुभयो भने अर्को कुरा । प्रचण्डको प्रवृत्तिमा शंका पनि छ ।
कांग्रेसले अफर गर्ने होइन कि, प्रचण्ड आफैं ठोक्किएर आउनुभयो भने मात्र विकल्प हो । प्रमुख कुराचाहिँ केपी ओलीको नेतृत्वमा सरकार बन्नु नै प्राकृतिक हुन्छ । ओलीले बहुमत जुटाउन सक्नुभएन भने त अर्को कुरा हो ।

अनलाइन खबरबाट

  • १८ पुष २०७४, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech