• २० मंसिर २०७७, शनिबार
एमाले-माओवादी एकता र घिउ बेचुवा र तरबार बेचुवाको कथा
  • स्टुडियाे संवाददाता

कम्युनिस्ट पार्टीहरूको जुट्ने र फुट्ने क्रममा एमाले र माओवादीको एकताको कुरा अगाडि बढेको भनिएको छ । यसको अहिलेसम्मको अन्तिम पटाक्षेप भनेको एमाले–माओवादी नेताका एकताबारेका भाषण नै हुन् । कहिले चुनावअघि नै यी दलबीच एकता हुने भनियो भने फेरि अहिले एकता सम्भव छैन, चुनावपछि गरौँला पनि भनिएको छ । के हो त यो एकताको चर्चा भन्ने सन्दर्भमा विभिन्न कोणबाट विश्लेषण भइरहेको पनि छ ।

दामोदर पौडेल

प्रथमतः कम्युनिस्ट एकता किन भन्ने सवालमा ध्यान दिन आवश्यक छ । माओवादीलाई १० वर्षे हिंसात्मक गतिविधिमा भएका मानवताविरोधी कामहरूले सताएको छ । त्यही कारणले कानुनको कठघरामा आउनुपर्ने सम्भावना छ । कतिलाई जन्मकैदसमेत हुन सक्ने सम्भावना छ । द्वन्द्वबाट पीडित काङ्ग्रेस र एमालेका मानिसहरूमा त्यो पीडा सकिएको छैन । उनीहरूका नेताहरूले जे भने पनि माया गर्ने बाबुआमा, काखका सन्तान तथा पतिपत्नी र आफन्त एवम् साथीहरू गुमाउनेहरूले माओवादीलाई र यसको पक्षमा लाग्नेलाई मत दिन कठिन नै हुन्छ । मरेका र सताइएका आफन्तभन्दा दलको निर्णय र मत ठूलो हुँदैन भन्ने धेरैबाट आइरहेको छ । तर, कानुनी कठघराबाट बच्न माओवादीलाई राम्रो सहयोगी चाहिएको हो । काङ्ग्रेसले भन्दा एमालेले सहयोग गर्न सक्ने र कम्युनिस्ट एकताको भ्रमबाट कम्युनिस्टको बहुमतको भावना जगाएर बहुमत आएमा एमाले र माओवादी हिंसात्मक गतिविधिमा आममाफीका लागि पनि त्यस समयसम्म एक हुने सम्भावना हुन्छ भन्ने पनि हो ।

सँगै एमालेप्रति माओवादीको र माओवादीप्रति एकालेको पूर्ण विश्वास छँदै छैन । एमालेले वामएकताको नाममा माओवादीबाट मत लिने र आफ्ना मत काङ्ग्रेससमेतलाई दिने सम्भावना किन पनि छ भने कतै ४० प्रतिशत सिट पाएको माओवादीले ३५ प्रतिशत सिट जितेर एमालेले ३० प्रतिशत सिट जितेमा आगामी प्रधानमन्त्रीको दाबेदार माओवादी बन्ने मात्र होइन नपाए पुनः काङ्ग्रेससँग मिल्ने सम्भावना हुन्छ । एमाले र माओवादी दुवैलाई थाहा छ कि यो चुनावमा जुन दल ठूलो हुन्छ त्यो नै देशको कम्युनिस्ट विचारको मूलधार मानिने सम्भावना छ । यही कारणले र माओवादीबाट पीडितहरूले काङ्ग्रेससमेतलाई मत दिने सम्भावना पनि उत्तिकै छ । धेरै विवादास्पद कार्यहरू र एक–अर्कामा नमिल्ने कुराहरू हुने सङ्केत र आ–आफ्नो आवश्यकताको आधारमा मतको प्रयोग गरिने सम्भावनाहरू छन् ।

हिजोसम्म माओवादीले एमालेलाई कम्युनिस्ट पार्टी नै होइन भन्ने गरेको हो । एमालेले माओवादीलाई उग्रवामपन्थी, सारसङ्ग्रहवादी आदि आरोप लगाएकै हो । एकाएक दुईवटा एकले अर्कोलाई कम्युनिस्ट स्वीकार नगर्ने दलहरू एक हुन चाहेको देखिएको छ । तर, उनीहरूले माआवोवाद–विचार छोड्ने कि नछोड्ने, चीनमा कम्युनिस्ट व्यवस्था आउँदाभन्दा नेपालमा बढी नै विकास भएकाले अब समाजवादमा जाने हो कि पुँजीवादकै विकास गर्ने हो भन्ने पनि सवाल छ । यदि समाजवादमा जाने भन्ने तर्क गर्ने हो भने एमालेको बहुदलीय जनवादको औचित्य समाप्त हुनेछ । त्यस्तै माओवादीले लिएको माओको नौलो जनवादको कुरा पनि समाजवादको चरणमा आवश्यक पर्ने छैन । माओको अर्को महत्वपूर्ण कार्य कम्युनिस्ट पार्टीकै अधिनायकत्वमा जनवादको विकास हो । यो अवस्था पनि अब छैन र छ भने अरू दलहरूको अस्तित्व के हुने ?

कम्युनिस्ट पार्टीको प्राधिकारमा को रहने भन्ने पनि विवादकै विषय हुन सक्दछ । एङ्गेल्स, माक्र्स, लेनिनलाई मात्र मान्ने हो भने पनि उनीहरूले कम्युनिस्ट पार्टीको अधिनायकत्व र एउटा मात्र कम्युनिस्ट पार्टी भन्ने सार छोडेर गएका हुन् । कुन विचारकको कति कुरालाई सम्भावित कम्युनिस्ट पार्टीले आत्मसात् गर्ने भन्ने अझै प्रस्ट छैन । निजी सम्पत्तिको उन्मूलन कम्युनिस्टहरूको लक्ष्य भए पनि जुन कम्युनिस्ट देशमा निजी सम्पत्ति छैन त्यहाँ चरम गरिबी छ जसमा उत्तर कोरिया तथा क्युवाजस्ता देश पर्छन् । मलाई अहिले पनि मन छुने गरेको छ कि क्युवाकी कम्युनिस्ट नेतृले करिब २५ वर्ष पहिला अन्तर्वार्तामा भनेकी थिइन् कि क्यास्ट्रोजस्तो महान् मानिस दुनियाँमा छैन, तर हामीहरूको गरिबीको कारणले जनतालाई विचारको कुरा सोच्ने फुर्सत नै छैन । जनतालाई दुई छाकको जोहो गर्नै कठिन छ । यो सबै अमेरिकाले गर्दा भएको हो । यो अन्तर्वार्ता नवयुवामा छापिएको थियो । उनको यो भनाइले के देखाउँछ भने ब्रेन वास, बानी र डरले गर्दा माथिका कम्युनिस्ट नेताहरूले जति गल्ती गरे पनि विरोध हुँदैन र झुटो दोष अरूलाई दिने गरिन्छ । यो तथ्य हामी जनताले राम्रोसँग ध्यान दिन आवश्यक छ । त्यस्तै, निजी सम्पत्तिको अन्त्य नभए वास्तविक समानता नै हुँदैन भन्ने कम्युनिस्ट धार छोडेको चीनमा जनताको जीवनस्तर राम्रो भएको छ । त्यहाँ कम्युनिस्ट पार्टीको नामबाट शासन भएको एकदलीय पुँजीवाद छ । यो तथ्यको सम्बन्धमा पनि एमाले–माओवादी एकीकरणमा विवाद हुनेछ । चीन र उत्तरकोरियाहरू कस्ता देश हुन् । कि कम्युनिस्ट शब्द राखिदिएको भए पञ्चायत पनि कम्युनिस्ट व्यवस्था नै हुने थियो भन्ने सवाल पनि छ ।

उत्तर कोरियामा ८० जनालाई सरकारले अनुमति नदिएको फिल्म हेरेको अभियोगमा सन् २०१३ को नोभेम्बरमा मृत्युदण्ड दिइएको रहेछ । कम्युनिस्टको अधिनायकवाद आएर त्यस्तै, अवस्था नेपालमा पनि आए हामीहरूको हाल के होला ? हामीहरूका सन्तान दरसन्तानले कसरी जीवन बिताउलान् भन्ने लाग्नु स्वाभाविक हो । एकजना उपप्रधानमन्त्री गाडीमा निदाएकाले तोपबाट उडाएर नै मारिए । अर्का उपप्रधानमन्त्रीले किमको कुरालाई तुरुन्त हुन्छ नभनेकाले १७ वटा सिकारीकुकुरको खोरमा लगेर कुकुरबाटै मार्ने काम भयो र उनी किमको फुपाजु नै थिए । चीनमा पनि माओले भनेको नमानेकाले तेगका जेठा छोरालाई भवनको माथिबाट धकेल्न लगाएर मार्न खोजेकोमा नमरेपछि माओको निधनपछि उनी केही समयसम्म चीनमा अपाङ्ग सङ्घको अध्यक्ष बनेका थिए । सन् १९९० ताका लोकतन्त्रको आन्दोलनमा केही नरम भएकाले चीनका तत्कालीन प्रधानमन्त्री हटाइए र पछि निमोनियाको उपचार नपाएर मरे भनिन्छ । यी मात्र प्रतिनिधि विषय हुन् । यस्ता पीडादायी घटना धेरै छन् ।

कम्युनिस्टहरूमा धेरै उतारचढाव आएका छन् । अल्पमत, फरक मत र धारलाई शत्रुको रूपमा हेरिने कम्युनिस्ट परम्पराबाट कम्युनिस्टहरू वाकिफ नै छन् । यसकारण माओवादीले एमाले कमजोर र ऐमालेले माओवादी आफूभन्दा कमजोर हुनुपर्छ भन्ने चाहनु अस्वाभाविक हुँदै होइन । बहुदल र बहुलवाद मान्ने काङ्ग्रेससँग विमति राखेजस्तो कम्युनिस्टहरूबीचको विमति हुँदैन । माओले आफ्नै राष्ट्रपतिलाई उनको कुरा नमानेकाले जहाज उडेको समयमा प्रहार गरेर मारेका थिए । काङ्ग्रेसले गरेका केही गल्तीको कारणले कम्युनिस्ट बन्न सकिएला, तर कम्युनिस्ट एकदलीय व्यवस्था आएपछि जनताको हैसियत वैचारिक रूपमा भेडाबाख्राको जस्तो र दलभित्रका विरोधीहरूको हैसियत लखेटिएको स्यालजस्तो हुन्छ । त्यति मात्र होइन, समर्थकहरू पनि पपुलर भए मारिन्छन् । स्टालिनले आफ्नो कट्टर भक्त मस्कोको मेयर बन्दै गर्दा मारेका थिए भन्ने आरोप छ । किनभने उनले स्टालिनको स्थान उनकै जीवनमा लिन सक्छन् भन्ने उनलाई डर थियो । उनी मारिँदा सामान्य अनुसन्धान पनि भएन । यही नै षड्यन्त्रको अनुमान हो ।

अझै माओवादीले भन्ने गरेको जनयुद्ध एमालेले स्वीकार गर्ने कि नगर्ने ? एमालेका समेत कार्यकर्ता मारिएको त्यो समयमा जनयुद्ध नै भएको थियो भने एमालेका मारिनेहरू जनताका शत्रु थिए भन्नुपर्ने हुन्छ । जनयुद्धलाई स्वीकार नगर्ने हो भने माओवादीका घटना अपराध हुन सक्छन् । यो दल एकीकरणका लागि ठूलो तगारो हो ।

यी विषयले के देखाउँछन् भने एमाले र माओवादीहरू मिल्नका लागि चुनावमा एक भएकै होइनन् । उनीहरू चुनाव सँगै लडेको देखाएर एकभन्दा अर्को बलियो देखिनका लागि गरेको एकले अर्कालाई खुर्कने रणनीति हो । यसमा कुन सफल हुन्छ भन्ने हेर्न बाँकी नै छ । यदि एकता नै चाहने हो भने चुनावभन्दा पहिला नै मुख्य प्रयास हुनुपर्ने हुन्छ । त्यो नभएपछि कुनले कुनलाई मूर्ख बनाउन सकिन्छ भन्ने खेल मात्र गरेको हुन जान्छ । यी कारणले गर्दा चुनावभन्दा अगाडि यी दलबीचमा एकीकरण नभए वाद, रणनीति, नेपाली कम्युनिस्ट इतिहासको व्याख्यासमेतको कारणले चुनावपछि एकीकरण असम्भवस्तै देखिन्छ । एकीकरण भएमा उनीहरूको परिचय नै समाप्त हुनेछ ।

अन्त्यमा यो कथा : बजारमा एउटा घिउ बेच्नेले डब्बाको मुखमा घिउ राखेर तल पिँडालु राखेर बजारमा बेच्न गएछ । अर्को तरबार बेचुवा रहेछ । उसले काठका केही तरबार तयार गरेर फलामको जस्तो रङ लगाएर बजारमा बेच्न लगेछ । घिउ बेचुवासँग घिउ किन्न आउनेहरूले चम्चाले तलसम्मको घिउ हेर्न खोज्दा ऊ रिसाएर हेर्नै दिँदैनथ्यो । हेर्न नपाएपछि घिउ बिक्ने कुरै भएन । उता तरबार बेच्नेको तरबार समातेर कसैले केही काटेर जाँच्न खोज्दा ऊ रिसाउँथ्यो र हेरेर मात्र लग्नुपर्ने भन्थ्यो । आखिरमा रातिसम्म दुवैका सामान बिकेनन् । सबै गए । उनीहरू मात्र बाँकी भए । एकले अर्कोलाई झुक्याउन उठेर बिचैमा भेटे । दुवैले अर्कोको माल पारख गर्ने कुरै भएन । बरु वाक्क भएका दुवैले आफ्नो सामानको गुणगान गर्दै एक–अर्कालाई साट्ने गरेर जिम्मा लगाएछन् । दुवैले एक–अर्कालाई झुक्याउन सफल भएकोमा दङ्ग भएछन् । घरमा गएर हेर्दा घिउको तल भएको पिँडालु पूरै कुहेको रहेछ र सँगै खन्याएकाले घिउ पनि काम लागेन । उता तरबार लग्नेले काठमा हान्दा काठलाई केही भएन तरबार भाँचियो । अरू तरबार पनि भाँचिएपछि काठ त हो रहेछ, अब दाउरा बनाउँछु भन्दा त खिर्रो (आगो नबल्ने काठ) पो रहेछ । बलेन । सावधान… तपाईंहरू सावधान हुनुहोस् र हामी जनता पनि सावधान होऊँ ।

  • १८ पुष २०७४, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech