• ३ आश्विन २०७७, शनिबार
१८ वर्ष बित्दा पनि रहस्यमै ‘दरवार हत्याकाण्ड’
  • स्टुडियाे संवाददाता

२०५८ साल जेठ १९ गते । अर्थात १९ वर्षअघि आजकै दिन तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको अकल्पनीय ‘दरवार हत्याकाण्ड’ अझैपनि रहस्यमयनै छ ।

‘दरवार हत्याकाण्ड’ का रुपमा परिचित यो घटना भएको आज १८ वर्ष पूरा भएर १९ वर्ष लागेको छ । घट्नामा राजा वीरेन्द्र शाहसहित उनको परिवारका १० जना सदस्यको हत्या भएको थियो जसलाई अझै पनि ‘दरबार हत्याकाण्ड’का नामले चिनिन्छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त यो घटनालाई ‘ग्राण्ड डजाइन’को संज्ञा नै दिएका थिए । तर त्यो हत्याकाण्डको ग्राण्डडिजाइन कसले गरेको हो भन्ने अझै रहस्यकै गर्भमा लुकेको छ ।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो ।

यो घट्नामा पूर्वराजा ज्ञानेन्द्र, पत्नि कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

दरवार हत्याकाण्डको छानबिन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र तत्कालिन नेकपा (एमाले) नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । समितिले पेश गरेको प्रतिवेदनमा देवयानी राणासँग प्रेम सम्बन्धमा रहेका युवराज दीपेन्द्रले उक्त हत्या गरेको देखाएको थियो । प्रतिवेदनमा  देवयानी र आफूबीचको विवाहको प्रस्तावलाई राजपरिवारले अस्वीकार गरेकाले हत्याकाण्ड मच्चाएको प्रतिवेदनमा उल्लेख छ । तर, उक्त प्रतिवेदनप्रति आमजनता अझै विश्वस्त हुन सकिरहेका छैनन् ।

यो अवधिमा दरबार हत्याकाण्डको रहस्य खोल्ने भन्दै धेरै पुस्तकहरु पनि लेखिए तर, हत्या यसैले गरेको हो भनेर कसैले किटान गर्न सकेका छैनन् ।

लेखक कृष्ण अविरलको ‘रक्तकुण्ड’, तत्कालीन सैनिक सचिव विवेककुमार शाहले ‘मैले देखेको दरबार’ लगायतले दरवार हत्याकाण्डका बारेमा पुस्तक लेखेर दोषी चित्रण गरिएपनि सर्वसाधारणले भने अझै पत्याउन सकिरहेका छैनन् । हत्या काण्डपछि राजा ज्ञानेन्द्र झण्डै ४ बर्ष कार्यकारी अधिकारसहितको राजा बनेपनि उक्त घट्नाको सत्यतथ्य बाहिर नल्याएको भन्दै सर्वसाधारणले उनीमाथि समेत औँलो ठड्याउने गरेका छन् ।

  • १९ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech