• ५ आश्विन २०७७, सोमबार
डेंगु रोग सप्तरीमा पनि भेटियो
  • स्टुडियाे संवाददाता

 

सुनसरीको धरान उपमहानगरपालिकामा महिना दिनदेखि फैलिएको डेंगु रोगको संक्रमण सप्तरीमा पनि फेला परेका छ्न ।

डेंगु नियन्त्रण गर्न उपमहानगरपालिका र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पहल थालेको भए पनि दिनप्रदिदिन डेंगुका बिरामी बढ्ने क्रम जारी हुने क्रममा सुनसरीको ईनरुवा हुँदै सप्तरीमा संक्रमण देखिएको हो ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं ६ का २७ वर्षीय रामकान्त चौधरीमा बुधबार डेंगुको संक्रमण फेला परेको प्राथमिक स्वास्थ्य केन्द्र कन्चरुपका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिएका छन् ।

ल्याबमा चेकजाँच गर्दा चौधरीलाई डेंगुको संक्रमण देखिएको हो । यसैगरी सुनसरीको धरानमा फैलिएको डेंगु संक्रमण मोरङ झापा हुँदै ईनरुवामा पनि देखा परेको थियो ।

सामान्यतः डेङ्गु भाइरसको सङ्क्रमण भएका करिब ८० प्रतिशत मानिसमा रोगको कुनै लक्षण देखिँदैनन् वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षण मात्र देखिन्छ । सङ्क्रमित मध्ये ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिस यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्छन् ।

यो रोग छिप्पिन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले ४ देखि ७ दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेङ्गुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन ।

प्रायजसो बालबालिकामा डेङ्गुको सङ्क्रमण हुँदा सामान्य रुघा तथा सङ्क्रामक पखाला भएको जस्तै लक्षण देखिने गर्छन् । त्यस्तै बालबालिकामा विभिन्न जटिलता देखापर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ ।

सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखापर्छ । डेङ्गुको पहिचानका लागि मुख्य लक्षण अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडि दुख्ने, मांसपेसी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।

यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छ, लक्षण सुरु हुने अवस्था फेब्राइल, गम्भीर अवस्था क्रिटिकल तथा निको हुने अवस्था रिकभरी । लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियसभन्दा पनि उच्च ज्वरो आउने शरीरमा पीडा महसुस हुने तथा टाउको दुख्ने जस्तो लक्षण देखिन्छन् ।
यो अवस्था प्रायजसो दुई दिनदेखि सात दिनसम्म रहने गर्छ ।

वाकवाकी लाग्ने तथा वान्ता हुने पनि हुन सक्छ । डेङ्गुको सङ्क्रमण भएका ५०–८० प्रतिशत बिरामीहरूमा लक्षण देखिन सुरु भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखापर्न सक्छ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो स–साना फोकाहरू देखा पर्छन् । रातोको बीचमा सेतो हुने फोका पनि देखिन सक्छ ।

यस्ता फोकाहरूलाई अङ्ग्रेजीमा आइसल्यान्ड अफ ह्वाइट इन अ सी आफ रेड (रातो समुन्द्रमा गोराहरूको टापु) भन्ने गरिन्छ । यो अवस्थामा शरीरमा हुने कोसिकाहरू फुटेर छालामा ससाना थोप्ला देखापर्ने र मुख र नाकका म्युकस मेम्बे्रनबाट सामान्य रक्तश्राव हुने लक्षण पनि देखापर्छन् ।

डेङ्गुको ज्वरो वा बच्न लामखुट्टेको टोकाइबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नुपर्छ । पानी जम्न सक्ने भाडाहरू जस्तै गमला फुलदान खाली बट्टा अलकत्र वा मट्टीतेल खाली ड्रमहरू गाडीका काम नलाग्ने टायहरूमा पानी जम्न नदिने । पानीका ट्याङ्की लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने ।

कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने । फुलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने । लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउन पर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।

लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरकै झ्याल ढोकामा जाली लगाउन उपयुक्त हुन्छ । घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नुपर्छ । स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरिन्छ ।

डेङ्गु ज्वरोविरुद्धको खोप र खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेङ्गु ज्वरोको शङ्का लागेमा हुन सक्ने जटिलता बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

  • ५ असार २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech