• ७ आश्विन २०७७, बुधबार
प्रहरी नायवबाट सिमा प्रहरी चौकीको भवन उद्घाटन
  • स्टुडियाे संवाददाता

 

नेपाल प्रहरी भौतिक पूर्वाधारहरुमा आत्मनिर्भर हुँदै जाने क्रममा नेपाल सरकारको नियमित बजेटबाट निर्माण सम्पन्न भएको सिमा प्रहरी चौकी, लग्मा, जटही , धनुषाको नव-निर्मित प्रहरी भवनको यही आषाढ ५ गते बिहिवार २ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ ।

धनुषा, नगराईन नगरपालिका-२ जटही टोलमा निर्माण सम्पन्न भएको उक्त प्रहरी भवनको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नयाँ भवनको निर्माणसँगै नयाँ तरिकाले सभ्य, शिष्ट एवम् नागरिक मैत्री व्यवहार गरी समयमै र प्रभावकारीरुपवाट सेवा प्रदान गर्नुपर्ने बताउनु भयो ।

समाजमा शान्ति सुरक्षा कायम गर्ने तथा सिमावर्ती अपराध नियन्त्रण र तस्करी रोक्ने कार्यमा अन्य प्रहरी चौकीको तुलनामा सिमा प्रहरी चौकीको भुमिका अझ बढी जिम्मेवारी र संवेदनशिल हुने हुँदा कार्यरत प्रहरी कर्मचारीहरुलाई कुनै लोभ लालच नराखी लगनशिल, कर्तव्य निष्ट, निष्पक्ष एवं तटस्थ भई कार्य गर्न निर्देशन समेत दिनु भयो ।

सोही अवसरमा नेपाल प्रहरीले अंगिकार गरेको समुदाय-प्रहरी साझेदारी अवधारणको बारेमा बोल्नु हुँदै प्रहरी नायव महानिरीक्षक पालले प्रहरी समुदायसँग जोडिएको हुँदा समाजलाई भयरहित सुरक्षित बनाउन समुदाय-प्रहरी साझेदारी अवधारण अन्तर्गत महिला हिंसा, मानव वेचबिखन, महिला, वालवालिका र जेष्ठनागरिकहरु उपरहुने अपराध र व्यक्तिको सुरक्षा लगायत विविध विषयहरुसँग सम्बन्धीत सूचनाहरु समयमै प्रहरीलाई उपलव्ध गराई समूदाय-प्रहरी साझेदारी अभियानलाई सार्थक बनाउन समेत आग्रह गर्नु भयो ।

कार्यालय र ब्यारेक सहितको ११ कोठा भएको आरसिसि फ्रेम स्ट्रक्चरमा निर्माण सम्पन उक्त भवन उद्घाटन कार्यक्रममा स्थानिय निकायका प्रतिनिधिहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, स्थानीय संघसंस्थाका पदाधिकारी, समाजसेवी, पत्रकार, स्थानिय लागयत अन्य प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

  • ५ असार २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech