• २० मंसिर २०७७, शनिबार
स्वस्थानी व्रतकथा, भाग – ४ (शिव/सती विवाहप्रसङ्ग)
  • स्टुडियाे संवाददाता

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।।
ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि, केही दिनपछि लगन ठहर्याइएको दिनमा श्री विष्णु दक्ष प्रजापतिका घरमा पुगी महादेवको बाटो हेर्न थाल्नुभयो । दक्ष प्रजापतिले पनि विवाहको सामग्री तयार गराई यज्ञको विधिपश्चात् कन्यादान दिन तयार भए । कैलाशमा महादेव भने बिष, भाङ, धतुरो खाई मस्त भई विवाहमा जान भुल्नुभयो । ‘महादेव अझै आइपुग्नु भएन, कन्यादानको समय हुन आँट्यो, मैले यो दान थापेँ भने श्री भोलेनाथमाथि अन्याय हुन्छ अब कसो गरुँ ? के गरुँ ?’ भनी मनमा खुलदुली र आकुलब्याकुल भर्इ विष्णु भगवान् छटपटाउन थाल्नुभयो । उता महादेवको पनि त्यसै वेला चेत खुल्यो अनि कन्यादानको बेला हुन लागेको झट्ट सम्झनुभयो र जागा हुनुभयो अनि विष्णुले अह्राउनु भएअनुसार विवाह मण्डपमा पुग्नुभयो र भन्नुभयो – ‘हे दक्ष ! प्रजापति म अति टाढाबाट आएको छु । मलाई धेरै भोक लागेको छ । मलाई भीक्षादान नगरी कन्यादान लिएमा वा दिएमा दुबै पक्षलाई श्राप दिन्छु ।’

विष्णु :– हे बृद्ध भिक्षुक ! कन्यादानको ठीक्क समय हुन आँट्यो, यो लग्न टार्नु हुँदैन । कन्यादान सक्ने बितिक्कै तिमीले भिक्षा लेऊ । अहिले मसँगै छेउमा आई बस ।
त्यसपछि श्री महादेवजी विष्णुको छेउमा आएर बस्नुभयो । त्यसैबखत भगवान् विष्णुले आफ्नो मायाले दक्ष प्रजापतिले मन्त्र पढेर हात सुम्पन लागेको बेला उनको आँखा छली सतीदेवीको हात बृद्ध सन्यासीको रूप लिएका महादेवको हातमा पारिदिनुभयो । माया हटिसकेपछि दक्षप्रजापतिलाई चेत आयो र मनमा बडो खेद मानीकन भने – ‘हे विष्णु ! तिमी कपटी रहेछौ, तिम्रो छलले गर्दा मेरी पुत्री यस अवस्थामा पुगी । तिम्रो विश्वासमा परी म ठगिएँ ।’

दक्षप्रजापतिले यसो भनेको सुनी तत्कालै भगवान विष्णु सन्यासीरूप महादेवसित विदा भई अन्तर्ध्यान भई विष्णुलोक वैकुण्ठमा जानुभयो । विष्णु भगवान् जानु भइसकेपछि दक्ष प्रजापतिले छोरीतिर हेरे र भने – ‘हे पुत्री सतीदेवी ! पापिष्ठ विष्णुका छलले गर्दा आज तिमीले यस्ता बृद्ध सन्यासी स्वामी पायौ । दुःख कत्ति पनि नमान । हामी नै तिमीलाई पालौंला । अहिलेलाई मनमा धैर्य राखी यिनै सन्यासीसित जाऊ ।’ आफ्ना पिताले भनेका यी कुरा सुनी उनले भनीन् – ‘आफ्नी सबै बहिनीहरूले देवता स्वामी पाए, तर आफू भने बृद्ध सन्यासीका हातमा परें’ । यस्तो सम्झी बडो विषाद गरी उनी आफूलाई धिक्कारी भक्ककानिएर रुन थालिन् । केहीबेरपछि आफूले आफैंलाई सम्झाउँदै बरबराउन लागिन् – ‘मेरो कर्ममा जे लेखिएको थियो त्यही भयो । अब रोएर मात्र के हुन्छ र ! जसै गरेपनि मेरो पाणीग्रहण गर्ने पुरुष भनेका यिनै बृद्ध सन्यासी हुन् ।’ यसरी आफैंले आफैंलाई बुझाएर धैर्य गरिन् । अनि सन्यासी रूपमा महादेवले पनि सतीदेवीलाई आज्ञा गर्नुभयो :– ‘हे स्त्री ! अब हामीले यहाँ बसेर हुन्न । हाम्रो घर जानुपर्छ । तिमीले अब आफ्ना बाबामहतारीसँग विदा माग ।’ स्वामीको यस्तो आज्ञा सुनी सतीदेवीले आफ्ना मातापिता दक्षप्रजापति र विरणी भएका ठाउँमा गएर ‘हे पिता ! हे माता ! म अब पतिका साथ जान्छु । मलाई बिदा दिनुहोस् ।’ भन्दै बिदा मागिन् । छोरीको कुरा सुनी विरहव्यथाले मुटु गाँठो पारी आँखाभरी आँसु लिएर ‘जाऊ, पुत्री’ भनी बाबा महतारीले रुँदै बिदा दिएपछि उनीहरूलाई प्रणाम गरी सतीदेवी पनि आफ्ना बृद्ध सन्यासी पतिका साथ लागिन् ।

जाँदाजाँदा बाटामा सन्यासीरूप महादेवबाट आज्ञा भयो– ‘हे सुन्दरी ! तिमी सुकुमारी, कोमलाङ्गी, बाबाका घरमा सुखले पालिएकी, यस्तो अप्ठ्यारो बाटोमा हिँड्न कत्ति कष्ट भयो होला ? तिम्रो पाउ दुख्ला, जिउ गल्ला, सुस्त सुस्त हिँड ।’ पतिले आफूलाई गरेको मीठो वचन सुनी सतीदेवीले भनिन् – ‘हे स्वामी ! म भरखरकी छु, हिँड्न सक्छु । उमेरको दृष्टिले हजूर बृद्ध भएकाले हिँड्न गाह्रो पर्छ । मलाइ ता के हुन्छ र ? बरु हजूर सुस्त सुस्त हिंडिबक्सिए बेस होला’ भन्दै अरु पनि धैर्यका थुप्रै कुराहरू गरेर आफ्ना स्वामीलाई सन्तोष दिलार्इन् । आफूलाई भर्खरकी युवती र पतिलाई भने बृद्ध देखेर ‘मेरा पतिलाई कसैले हप्काए वा केही गरी मलाई खोसी लगे भने के होला ?’ भनी मनमा अनेकौं तर्कना र चिन्तना गरी सतीदेवीले पतिलाई एकैछिन पनि नछोडी सँगसँगै हिँड्न थालिन् ।

जाँदाजाँदा कैलाशको नजिकमा पुगेपछि सतीदेवीको चरित्र जाँच गर्नुपर्यो भनी महादेवले कैलाशका शिखरमा एउटा खरले छाएको झुप्रो निर्माण गर्नुभयो । अनि भन्नुभयो – ‘हे स्त्री ! हाम्रो घर अब आइपुग्नै आँट्यो । ऊ त्यो माथि देखिएको छाप्रो हाम्रो घर हो । त्यहाँ पुगेर विश्राम गरौं ।’ भनी झुप्रोमा पुर्याउनु भयो । त्यहाँपुगेपछि फेरि भन्नुभयो – ‘हे प्रिये ! भित्र गएर केही खाऊ र थकाइ मार । म पनि धेरै थाकेँ । एकछिन बाहिरै सुत्छु ।’ यति भनी विष, भाङ, धतुरो खाई छाप्रोको दैलोबाहिर भुइँमा पल्टिनुभयो । सतीदेवीलाई सानो खरले छाएको झुप्रो घर देख्दा आफ्ना बाबाको घरको याद आयो र मन खिन्न बनार्इन् – ‘त्यस्ता महलमा बसेकी मलाई आज यस्ता घरमा आई बस्नुपर्यो’ भनी दुबै आँखाबाट बलिन्द्रधारा आँसु बगाइरहिन् । फेरि चेष्टा भयो र ‘दैवले आफ्ना निधारमा जे लेख्या हो सो भएरै टर्छ । अब सुर्ताएर केही हुँदैन ।’ भनेर आफ्नो मन आफैं बुझाई आँसु पुछिन् । केहीबेरपछि घरभित्र पसी हेर्दा कुनाकाप्चा , भित्तो र छानोतिर माकुरोको जालै–जाल मात्रै देखेर कुचोले माकुरोको जालो बढारिन् । ‘पतिदेब ब्युँझिबक्सिएपछि के खानुहोला’ भनी सबैतिर खानेकुराहरू खोज्न थालिन् । केही खानेकुरा देखिनन् र महादेवको चरणको मुख्याञ्जी हँसिलो अनुहार गरी बसिरहिन् ।

घरमा आइपुगेको चरदिनपछि मात्र महादेवको निद्रा टुट्यो । आफ्ना गोडामुनि हँसिली बनी बसिरहेकी सतीदेवीलाई देखी महादेवलार्इ असाध्यै माया लाग्यो । यद्यपि हर्षाश्रु दबाएर बाहिरबाट रिसाएजस्तो गरेर ‘हे पापिनी ! मलाई एक्लै बाहिर सुताएर आफूचाहिँ भित्र सुतिस् ? सो हुँदा पनि तँलाई केही खानु पर्दैन नि ? केही खार्इस् कि खार्इनस् ?’ भन्नु्भयो । यसरी आफ्ना स्वामी रिसाउन लागेको देखी नारीमा हुनुपर्ने नम्रता र पतिभक्ति आदि गुणले युक्त भएकी सतीदेवीले जून झैं उज्यालो र हँसिलो मुख लगाई सन्यासीरुपी महादेवको मुहार हेरिरहहिन् । अनि भनिन् – ‘हे स्वामी ! थकाइले गर्दा हजुर साह्रै निदाइबक्सेको देखी ब्युँझाउन सकिन । म सुतेकी छैन । हजूरकै छेवैमा बसिरहेकी छु । अब हजूर के खाइबक्सन्छ । मैले ता भित्र भाँडामा भएका मीठामीठा मिठाइहरू खाइसकेकी छु ।’ रूपकी राम्री त्यसमाथि नाना श्रृङ्गारले सजिएकी रिस र अरु सबै अवगुणहरू पैतालामुनि दबाएकी पतिव्रता सतीदेवीले भनेको कुरा सुनी नारीमा हुनुपर्ने सम्पूर्ण गुणहरू भएको बुझी ठूलो करुणा लिई श्री महादेवले भन्नुभयो – ‘प्रिये यहाँ के थियो र खायौ होला ? यो ता हाम्रो घर होइन । त्यो खरले बारेको भित्तो च्यातेर पल्ल्लातिर हेर त !’ पतिको यति कुरा सुनेर सतीदेवी भन्छिन् – ‘हे स्वामी ! भएको घरलाई भत्काएर नभएको घर कहाँ हेर्नु ? म स्त्री जाति र हजूरको बूढो उमेर ! भत्केको घरलाई कसले बनाइदेला ?’ सतीदेवीको कुरा सुनी सन्यासीरुपी महादेवले खरको भित्तोलाई लात्तले हानेर कैलाशपुरीको दर्शन गराउनुभयो ।

धेरै रत्न, धातु, मणिमाणिक्य आदिले सुशोभित, चिन्तामणि र कल्पवृक्ष आदिले वेष्टित कैलाशको रमाइलो शान्त ठाउँमा सुवर्ण नै सुवर्णले बनाएको आफ्नो घरलाई देखी अति प्रसन्न भएकी सतीदेवीले आफ्ना बाबाको भन्दा पनि अति सुन्दर र उत्तम घर देखी आश्चर्यमा पर्दी भर्इन् र धेरै खुशी भई हर्षका आँसु बगार्इन् र ‘धन्य मेरो पतिदेव’ भनीन् । त्यसपछि सन्यासीरूप धारण गरेका महादेवले कैलाशको चोकका माझमा गाईको गोबरले लिपेर रेखीले अखण्ड मण्डलाकार बनाउन आदेश दिनुभयो । आदेश अनुसार बनाएपछि सन्यासीरुपी महादेव त्यो मण्डलाकारभित्र विराजमान भएर ‘हे प्रिये ! अब मेरो सक्कली रूपलाई हेर ।’ भनी कपूर जस्तो स्फटिक वर्ण, करुणाका मूर्ति, संसारका सार र नागका माला हार लगाएको आफ्नो साकार अतिनै ज्वाज्वल्यमान रूपको दर्शन गराउनुभयो । यस्तो विश्वम्भरमूर्तिको दर्शन पाएर सतीदेवीले हर्षाश्रु बगाई ‘कैलाशपति श्री महादेवलाई मैले आफ्नो स्वामी बनाउन पाएकी रहेछु् । म धन्य भएँ ।’ भन्दै फूलको माला हातमा लिएर कमण्डलुको जलधारा बगाई तीन पल्ट परिक्रमा गरेर महादेवको गलामा पहिर्याएर साष्टाङ्ग प्रणाम गरीन् । त्यसपछि महादेव तथा सतीदेवी शिवशक्ति स्वरूपले रहँदा भए । अर्को प्रसङ्ग पञ्चम अध्यायमा बताउनेछु ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां ब्रह्माण्डवर्णनं नाम चतुर्थोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

  • २० पुष २०७४, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech