• १७ मंसिर २०७७, बुधबार
स्वस्थानी व्रतकथा, भाग – ५ (त्रिपुरदाह वर्णन )
  • स्टुडियाे संवाददाता

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।।
ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि, अब म त्रिपुरासुरले गरेको तपस्या र महादेवले त्यसलाई भष्म गराउनु भएको जो रहस्यमय र पुण्यमय अद्भूत कथा छ सो सुनाउँदैछु । अघि विष्णुले वराह अवतार धारण गरेर जब हिरण्याक्षको वध गर्नुभयो, त्यो देखेर सम्पूर्ण दानवहरूको शक्ति क्षीण भयो । ती दुःखी भएर खेद गर्न थाले । त्यसैबेला मय नाम गरेको दैत्य अफसोच गर्दै विचार गर्न लाग्यो । कामदेव नहुँदा रतिको जुन अवस्था भएथ्यो त्यस्तै शक्ति क्षीण भएको मयले घोर तपस्या गरेर ब्रह्मालाई प्रसन्न गराई कहिल्यै नमर्ने अमरत्व वर माग्ने इच्छाले तारकासुर र विद्युतप्रभ नामका आफ्ना दुई साथीहरू सहित भएर हिमालयमा गए । त्यहाँ तीन दैत्यहरूले पुसमाघका जाडामा अत्यन्तै पातला कौपिन मात्र लगाएर तपस्या गर्दथे । बैशाखजेष्ठमा मरुभूमिमा गएर पञ्चाग्नि तापेर तपस्या गर्दथे । अनि साउनभदौमा खुला नागीमा पानीको झरनामा रहेर तपस्या गर्दथे । यसरी तपस्या गर्दा गर्दै दशहजार वर्ष बिते । तिनका शरीरको हड्डी र छाला बाहेक अरु केही रहेनन् । तिनीहरूको यस्तो कठिन तपस्याबाट सन्तुष्ट भएका ब्रह्माले दर्शन दिई आज्ञा गरे :– हे दानव वीर हो ! तिमीहरूका तपस्याबाट म प्रसन्न भएँ । के वरदान चाहियो माग । ब्रह्माबाट यो आज्ञा भएको सुनी ती दैत्यहरूले बडो हर्ष मान्दै साष्टाङ्ग दण्डवत गरी दुबै हात जोडी बिन्ती गरे :– हे कमलासन ! हे पितामह ! हामी अमरत्व चाहन्छौं । हाम्रो बल पराक्रम ठूलो होस् । हामीबाट अब बनाइने तीनवटा शहरहरू आकाशमा विमानजस्तो एउटै भएर रहनेछन् र त्यसमा देवता र मनुष्य पुग्न नसकून् । हामी ठूला बलवान् र पराक्रमी हुन पाऊँ । यिनै वर हामीमा प्रदान होउन् । मयादि दैत्यहरूले यस्तो वरदान मागेको सुनी ब्रह्माजी आज्ञा गर्नुहुन्छ – हे दानव हो ! अबध्य वरदान ता म दिन सक्दिन । मृत्यु नहोस् भन्ने वरदानलाई छोडेर अब जे मागे पनि दिनेछु फरक पर्दैन । ब्रह्माजीका यस्ता वचन सुनी मय दानव भन्दछन् – हे प्रभो ! मबाट आकाशमा बसाइने तीनवटा पुर एकै ठाउँमा रहने छैनन् । ती अलगअलग रहनेछन् । जब दशहजार वर्ष पुग्छ तब ती तीनवटै पुरको मिलन आधा निमेषका निम्ति मात्र हुनेछन् । ठीक त्यसै बखतमा एकै वाणद्वारा ती तीनै पुरलाई जसले नाश गर्ला त्यही वीरद्वारा मात्र मेरो मृत्यु होस् । मय दानवको यस्तो निवेदन सुनी तथास्तु भनी हाँसमाथि सवार हुनुभएका ब्रह्माजी आफ्ना लोकतर्फ जानुभयो ।

हे अगस्त्य मुनि ! त्यस मय दानवले पनि जगतको नाश गर्ने मनसुवा लिएर आकाशमा तीन पुरको रचना गर्दो भयो । तीन पुरमध्ये एउटा फलामको, दोस्रो चाँदीको र तेस्रो चाँहि सुनको बनायो । आकाशमा रहेका ती तीन पुर सुमेरु पर्वतका तीनवटा सिङ झैं देखिन्थे । नानाथरीका आँखीझ्याल भएका अग्लाअग्ला महलका अटालीहरू ठाउँठाउँमा सुनका पाताहरूले मोडिएका राम्राराम्रा ढोकाहरू बनाइए । ठाउँठाउँमा मोती, प्रवाल, मणिमाणिक्य आदि राखिए । अनेकौं रत्नहरूमा विजुलीको जस्तै प्रकाश चारैतिर फैलिएको थियो । महलका झ्याल ढोकाहरूमा चित्र–विचित्रका हीरामोतीहरू जडिएको हुँदा त्यसमा चन्द्रमाको किरणको प्रतिबिम्बले झन् झल्झलाकार देखिन्थ्यो । नाना रङ्गीबिरङ्गीका ध्वजा पताकाहरूमा लागेका मन्दमन्द वायुले फर्फराउँदा अति शोभा पाउँथ्यो । विभिन्न कारिगरीको कृति झल्किने पङ्क्तिबद्ध महलहरू पनि रत्नैरत्नले जडिएका थिए । बाटा गल्ली र सडकहरूमा पनि उत्कृष्ट कलाकारिताको सीप झल्किएको थियो । विमानको जस्तो रूप भएको तीनवटा मिलेर एउटै देखिने त्यो पुर हजारौं बगैंचामा ६ वटा ऋतुमा ऋतु अनुसारका विभिन्न फूलहरू ढकमक्क फुलेका र फलहरू फलेका समान देखिन्थे । धेरै तलाउहरूमा पनि अनेकौं प्रकारका कमलका फूलहरूले शोभा दिएको थियो । यस्ता तरहले ती त्रिपुरका दैत्यहरूका घर, बाटा, सडक, बगैंचा, तलाउ, आदि बने । त्यहाँका बगैंचामा मयूर, कोइली, चखेवा आदि पन्छी हरूले शोभा बढाएका थिए । कलशजस्ता कुचमण्डल भएका, वारुणि मदिराका मदले रक्तवर्णका नेत्र भएका, ठूला आँखा, वारुले कम्मर र कोइलीको जस्तो बोली भएका, सधैं लज्जाले अलिअलि लोलाएर हाँस्ने, यस्ता सुन्दरी स्त्रीहरूले युक्त भएको त्यो पुरी इन्द्रपुरी झैं मनोरम देखिन्थ्यो ।

हे मुनि ! ती तीनवटा पुरमध्ये मय दानवले फलामको पुर तारकाक्षलाई दियो । चाँदीको पुर विद्युतप्रभलाई दियो र सुवर्णको पुर राजा मयले आफूलाई भनेर लियो । यसरी ती त्रिपुरका मालिकहरू आ–आफ्ना मन्त्रीगण, ब्राह्मणवर्ग र नोकरचाकरले सहित आ–आफ्ना स्त्रीहरूले शोभायमान भै आफ्ना शत्रु र तिनका सेनालाई जिती सुखपूर्वक तीनै लोकको आनन्द पाएर रहन लागे । सबै थोकमा परिपूर्ण भएर घमण्ड र अहङ्कारले उन्मत्त भएका ती दैत्यहरूले देवताहरूलाई जितेर उनीहरूका बगैंचामा रुख बोटविरुवाहरू उखेल्न लगाएर आ–आफ्नामा ल्याए । त्यो बाहेक देवलोकमा भएका अप्सराहरू र अरु सुखका साधनहरू पनि लुटेर, चोरेर ल्याउन थाले । यसरी देवताहरूलाई अनेकौं दुःख र कष्ट दिँदादिँदा धेरै समय व्यतीत भयो ।

त्रिपुरवासी दैत्यहरूका अत्याचारले पीडित भएका इन्द्रादि देवताहरू अत्यन्तै दुःखित भई ब्रह्माजीका शरणमा गई आफूमाथि आइपरेका सम्पूर्ण दुःख र कष्टको विस्तार गर्दा भए । त्रिपुरवासी दैत्यहरूबाट भएको उपद्रवलाई बुझी देवताहरूलाई शान्त गराई ब्रह्माजी विरिञ्चिबाट आज्ञा भयो –हे सुरवृन्द ! त्रिपुरासुर दैत्यहरू बडा बलिया छन् । हामीबाट तिनीहरूको नाश हुन सक्दैन । केवल श्री महादेवबाट मात्र ती दैत्यहरूको नाश हुन सक्छ । त्यसकारण अब हामीहरू श्री महादेवका शरणमा जाऔं । वहाँ नै हामी सबैका गति हुनुहुन्छ ।”

हे मुनि ! यसरी ब्रह्माजीको आज्ञा पाई सूर्य, इन्द्र, वायु आदि देवता ब्रह्माजीका साथ लागी कैलाशमा पुगे । वहाँ श्री महादेवलाई देखी ब्रह्मासहित सबै देवताहरूले स्तुति गर्नलागे – हे त्रिलोकेश ! हे पिनाकधारी ! हे चन्द्रशेखर ! हे मृत्युञ्जय ! हजूरलाई कोटीकोटी नमस्कार छ । चन्द्रज्योतिले प्रकाशमान भएका हे धुर्जाटि ! हे नीललोहित ! हे गङ्गाधर ! हे पिनाकपाणि ! हे पशुपति ! हजुरलाई कोटिकोटि नमस्कार छ । तीखो धार भएको बञ्चरो र त्रिशूल लिने नन्दीलाई वरदान दिने, जगतका आधार, देवताका पनि देवता हजुरमा कोटिकोटि प्रणाम छ । सधैं प्रसन्न रहने, यज्ञका निधि, हिमालवासी कैलाशपति श्री महादेव प्रभुमा कोटिकोटि प्रणाम छ । परात्पर, परब्रह्म, परमेश्वर, इन्द्रादि देवताहरूको पनि सृष्टि,पालन र संहार गर्ने यस्ता परमात्मा प्रमथाधिपति हजुरलाई कोटिकोटि प्रणाम छ । विरक्तिजनका हृदयमा र धर्ममा वास गर्ने, दिगम्बर धारण गर्ने, भक्तहरूका प्रिय, जगतका धाता–विधाता, सम्पूर्ण भोगलाई तुच्छ मान्ने, यस्ता शितिकण्ठ हजुरलाई कोटिकोटि प्रणाम छ । दक्ष यज्ञ नाश गर्ने, पूषाको दाँत भाँच्ने, रतिपतिलाई भष्म गराउने, हे पिनाकी ! हे गिरीश ! हे नीलकण्ठ ! हजूरलाई कोटिकोटि नमस्कार छ । श्मशान घरमा बसेर भूतप्रेत प्रमथगणले युक्त रहने, अज्ञानको नाश गर्ने, मोक्ष दिने, हे विश्वेश्वर, हे त्रयम्बक, हे कपर्दी ! हे शर्व ! हे रुद्र ! हे हर ! हे शम्भो ! हजुरलाई कोटिकोटि नमस्कार छ । हामीदेखि प्रसन्न भइबक्सियोस् प्रभू ! हजुरमा हाम्रो कोटिकोटि प्रणाम छ ।

हे अगस्त्य मुनि ! ब्रह्मासहित भएर देवताहरूले गरेका यस्ता स्तुतिद्वारा प्रसन्न हुनुभएका महादेवबाट आज्ञा भयो – ब्रह्माका साथ रहेका हे देवता हो ! म तिमीहरूदेखि प्रसन्न भएँ, लोकमा मबाट नदिइने कुनै वर छैन । तिमीहरूको जो इच्छा छ सो वर माग । महादेवबाट आज्ञा भएको सुनी प्रसन्नताले गदगद भएका देवताहरू बिन्ती गर्छन् – हे परमेश्वर ! परमेष्ठी ब्रह्माजीका वरदानले मदमत्त हुन गएका मयादि गरिएका दैत्यहरूले हाम्रा वन र उद्यानमा भएका उत्तमउत्तम फूल, बोटविरुवा आदि लुटेर लगी हाम्रो अमरावतीको सुन्दरतालाई नष्ट गराउनुका साथै हाम्रा मेनका, रम्भा, उर्वशी आदि अप्सराहरूलाई समेत लुटी लगिदिए । हामी सबै देवताहरूलाई पनि नाश गर्ने ध्येयले बडो दुःख दिइरहेका छन् । हे ईशान ! ती दैत्यहरूको नाश गर्न स्वयं श्रष्टाको पनि सामर्थ्य भएन । विष्णु भगवानबाट पनि सम्भव भएन । यस कारण हाम्रो कल्याण जसो गर्दा हुन्छ, त्यही नै वरदान हामीलाई प्राप्त होस् । हे ईश्वर ! ।”

यसरी अनेकौं बिन्तीभाउ गरिएका देवताहरूप्रति श्री महादेवजीबाट आज्ञा भयो – हे देवगण ! मेरो एघार अंश धारण गरेर रुद्र तेजोमय रूप भई तपाईंहरूले ती दैत्यहरूको नाश गर्नुहोस् । महादेवबाट आज्ञा पाएका देवताले पुनः विन्ती गरे – हे वृषभध्वज ! हजूरको तेजको हजार अंशको एक अंशको पनि हामी धारण गर्न समर्थ छैनौं । महेश्वरको तेजलाई धारण गर्नु ता के कुरा ? हेर्नसम्म पनि हामी सक्दैनौं । हे व्योमकेश ! हामीबाट ती दैत्यहरूको कदापि हार हुँदैन । हे भगवन् ! हजूरबाट नै त्रिपुरासुरको बध होस् । हे भूतेश ! तिनीहरूलाई ब्रह्माजीबाट वरदान मिलेको छ कि त्यो पुर बनिएको दशहजार वर्षपछि ती तीनै पुरको सम्मिलन आधा निमेषसम्मको निम्ति हुनेछ । जुन वीरले त्यसै समयभित्रमा नै एकै वाणले ती तीन पुर भष्म गराउला तब तिनीहरूको मृत्यु होला । यसबाहेक अरु कुनै विकल्पबाट तिनीहरूको मरण हुन सक्दैन प्रभु । ” हे विभो ! यस्तो वरदान पाएका दैत्यहरूको नाश गर्न हाम्रो कुनै उपाय र सामर्थ्य छैन । हे रुद्र ! हामीसँग प्रसन्न भई त्रिपुरासुरलाई नाश गरिबक्सियोस् भनी बारम्बार प्रणाम गर्दा भए ।

हे अगस्त्य मुनि ! यसरी स्तुति गरेर खिन्न चित्त लिएका देवताहरूमाथि दया राखी श्री महादेवबाट आज्ञा भयो – हे देवता हो ! त्यो त्रिपुर त्यत्ति दुर्भेद्य र सुरक्षित छ भने म एकै वाणले भष्म गरिदिउँला । ती तीनैपुर भष्म गराउनका निम्ति दानवादिले रक्षित मयसँग लड्दा मेरो बल थाम्न सक्ने एउटा रथ ठीक पार्नुहोस्, जो हिमालय पर्वतसमान हुनुपर्छ ।” महादेवको यस्तो आज्ञा सुनी सम्पूर्ण देवताहरू हओस् भनी महादेवलाई प्रणाम गरी आनन्दमा परी आ–आफ्ना स्थानमा जाँदा भए ।

त्यहाँ उप्रान्त देवताहरूको सल्लाह अनुसार महादेवका निम्ति विश्वकर्माले एउटा सुवर्णमय रथ बनाए । दुई चक्काले युक्त सो रथमा दक्षिण दिशाको चक्का सूर्यलाई बनाइयो र उत्तर दिशाको चक्का चन्द्रलाई बनाइयो । सूर्यपट्टिका चक्कामा द्वादश सूर्य र चन्द्रपट्टिका चक्कामा सत्ताइस नक्षत्र अवयव भए । तीन ऋतु एकापट्टिका चक्कामा र तीन ऋतु अर्कापट्टिका चक्कामा राखिए । अकाशलाई रथको गजुर बनाइयो । मन्दराचल पर्वतलाई चक्का अड्याउने धुर बनाइयो । अष्टाचल र उदयाचल पर्वत घरका दुइपट्टिका चुकुल भए । रथको वेगका निम्ति अयन र संवत्सरलाई बनाइयो । चार समुद्र रथका कुण्डली भए । गङ्गा आदि नदीहरू वस्त्र र आभूषणले सजिएर स्त्रीरूप भई रथमा चँवर लिएर रहे । रथ हाँक्ने काम ब्रह्माले लिए । ब्रह्मस्वरूप ॐकार कोर्रा भए । छाताको रूपमा विन्ध्याचल पर्वतलाई लिइयो । त्यसको पार्श्वभाग मन्दराचल भए । सुमेरूपर्वतको धनु र शेषनागको ताँदो बनाइयो । रथको घण्टा सरस्वती भइन् । भगवान विष्णु अग्निवाणको अग्रभागमा रहे । चार वेद रथका चार घोडा भए । तारागण जति ती घोडाका गहना बनिए । यो ब्रह्माण्डभित्र जति पनि चीजहरू छन्, ती सबै त्यो रथका अवयव हुन गए ।

हे अगस्त्य मुनि ! यसरी तयार भएको त्यो रथमा शशिशेखर शिव आई दशै दिशा कम्पायमान गराउँदै आरोहण हुनुभयो । महादेवका पार्शदहरू अघिअघि लागे । को को भने शङ्कुकर्ण, गणेश, कुमार, चण्डेश्वर, गणेश्वर, नन्दी, भृङ्गी, रिटी, तुण्डी, भूत, प्रेत, पिशाच, योगाक्ष आदि आ–आफ्ना अस्त्र साथमा लिई शङ्ख , भेरी , मृदङ्ग आदि बजाउँदै महादेवमाथि रङ्गीबिरङ्गी फूल, अबिर र लावा वर्साउन लागे । त्यस बखतमा सर्वेश्वर श्री महादेवका तेजको भार सहन गर्नमा असमर्थ भएका देवताहरू मोहमा प्राप्त भएको अवस्थालाई देखी श्री शिवजीले आफ्नो अतुलनीय तेजलाई खिँचेर केही कम गरेपछि देवताहरूमा रुद्र तेजलाई सहन सक्ने केही सामर्थ्य आयो ।

यस प्रकार देवताहरूबाट भएको यो महान् योजना थाहा पाएका नारदमुनिले दैत्यहरू कहाँ गएर भन्न लागे –त्रिपुराधिपति दैत्यहरू हो ! देवताहरूका स्तुतिबाट प्रसन्न हुनुभएका महादेव तिमीहरूलाई मार्न आउँदै हुनुहुन्छ, आफ्नो रक्षाको उपाय गरेनौ भने तिमीहरूको नाश हुनेछ । नारदजीका यी कुरा सुनी आफ्ना साथी विद्युतमाली र तारकाक्ष आदि दानवहरूका छेउमा बोलाई नारदमुनिका मुखबाट भनेका कुराहरू मय दानवले सुनायो । यो सुनी तारकले भन्यो – हे दैत्यराज ! वास्तवमा देवताहरू मर्ने र हामीहरू नमर्ने छौं । यो त्रिपुर अभेद्य छ । शत्रु परास्त गर्न साम, दाम, दण्ड, भेद आदि अनेक नीतिहरू छन् । आइलाग्ने बलिया शत्रुहरूलाई आफूले पराक्रम गरी दण्ड दिनु उचित छ । हे राजन् ! चिन्ता नलिइबक्सियोस् । तारकको यस्तो वचन सुनी विद्युतमाली बोल्यो – हे महाराज ! हामी धेरै बलिया छौं । ती देवताहरूले हामीसित युद्ध गर्न सक्दैनन् । हामीमाथि युद्ध गरी आउने मूर्खको नाश निश्चित छ । यसमा कुनै शङ्का छैन भने हे राजन् ! हजुरबाट चिन्ता लिने कामै छैन । हामी सबै वीरतापूर्वक लड्ने छौं । देवताहरूलाई जितेरै छोड्ने छौं र हजुरले इन्द्रपद समेतको भोग गर्न पाइबक्सने छ । त्यसपछि अघि हिरण्याक्ष र हिरण्यकशिपुले पाएका पदको समेत उपभोग गरी चौध भूवनकै स्वामी होइबक्सेला । विद्युतमालीका कुरा सुनी बारबार शिर कम्प गरी मयले भन्यो – दानव वीर हो । जसै गरे पनि जसो भने पनि अब हाम्रो नाश हुने दिन आयो । हेर ! कुनैपनि शत्रु बली वा निर्बली जस्तो होस्, त्यहाँ साम, दाम, दण्ड, भेदको नीति अपनाउनु पर्छ । कुरा ठीक हो, तर हामीलाई समेत सृष्टि गर्ने सम्पूर्ण जगतका ईश्वर स्वयम् महादेव नै आज हामीलाई मार्न आउँदैछन् भने अब हाम्रो उपाय छैन । मूढेबल र मुर्ख्याइँले मात्र केही हुने छैन । हामीले त अब उनै महादेवको शरणमा परेर दण्डवत् गर्नुबाहेक अरु उपाय म देख्न छोडेँ । हामी युद्ध गर्ने ध्येयले मूर्खतावश रणभूमिमा पुग्नासाथ महादेवका दृष्टिपातले नै अवश्य भष्म हुनेछौं । यसमा सन्देह नै छैन । ब्रह्मादि देवताहरू पनि आफूलाई दुःख आइपर्दा जसका शरणमा पुग्छन्, जसले एकै पलामा सम्पूर्ण जगतको सृष्टि गर्न सक्छन्, संहार गर्न सक्छन्, जो भुक्तिदाता र मुक्तिदाता अनि जगतका कारणरूप छन्, तिनै महादेवसित बराबर छु भनेर युद्ध गर्ने भन्ने सोच्नै नहुने कुरा हो । विधिहीन हाम्रो तपस्याले केही हुँदैन । जसका प्रभावले हामीले आजसम्म भोग गर्यौं, यसैमा सन्तोष गरौं । हे दानववीर हो ! मैले भनेका यी कुराहरूको विचार नगरी अझै पनि युद्ध गर्नमा उत्सुक हुन्छौ भने तिमीहरू सबै कालले प्रेरित भएका मात्र हौ ।

तारकाक्ष र विद्युतमाली आदि दानवहरूलाई दानवराज मयले यति भनेको कुरा सुनी नारदले सम्पूर्ण दैत्यहरूका संहारका कारण भई भने – हे महाराज मय ! अब तिम्रो तपस्या सकिँदै गयो । भोग ऐश्वर्य टुप्पामा पुग्यो, यो निश्चय भएछ । तर सङ्ग्राममा अघि नसरी नपुंसकता देखाउँदै शत्रुका शरणमा जानुभन्दा सङ्ग्राममा मरेर मोक्ष हुनु उत्तम ठहरिन्छ । यो हुन लागेको महायुद्धमा यदि महादेवका हातबाट मर्न पायौ भने उनकै प्रमथगणका अधिपति हुन पुग्नेछौ । शरणमा पनि गयौ र हार पनि स्वीकार्यौ भने पनि देवताहरूका भलाइका निम्ति महादेवले तिमीहरूलाई मार्नु नै हुनेछ । लडाइँमा जित्न सक्यौ भने तीनै लोकको सुख भोग्नेछौ । मर्यौ भने मोक्ष हातैमा छ । यस्ता ठूला पदको स्वामी भएर पनि कायरता किन ? हे राजन ! राम्रो सोच ।

नारदजीले भनेका वचन सुनी तारकाक्ष र विद्युतमाली दैत्यहरू पनि आयुष्यहीन भैसकेकाले मोहमा परेर हे भगवन् ! नारदजीले भन्नुभएका कुरा साह्रै उत्तम हुन् भनी मयपट्टि फर्केर भन्न लागे । ती दुईका वचन सुनी मय दानवले पनि आफ्नो विनाशको बेला भएछ भन्ने बुझी नारदजीका हित वचन हाम्रा श्रेयस्कर छन् भन्यो । त्यसपछि नारदजी प्रसन्न भई सकल दैत्यगणहरूलाई युद्ध गर्नमा उन्मुख गराई कैलाश जाँदा भए । युद्धको लालशा गरेर ती दैत्यहरू पनि नाना प्रकारका शस्त्रास्त्रहरूले सुसज्जित बनी युद्धका निम्ति तयार भए । तारकाक्ष, विद्युतमाली आदि वीरवीर दैत्यहरू युद्धको निश्चय गरी अनेक किसिमका बाजा बजाउँदै मय राजाका अगाडि आई सिंहनाद गर्न लागे । दानवहरूको सैन्य समूह दानवहरूमा भयदायी देखियो । ती आपसमा भन्न लागे – ऊ रथ आयो ! ध्वजा पनि देखिन थाल्यो । यस्तो भन्दै अभय र शीललाई त्यागी कुमतीले घेरेका ती दैत्यहरूले युद्धको निश्चय गरे । कालले निल्न आँटेका ती दैत्यहरू अग्निका ज्वालामा जसरी पुतली आदि कीराहरू पर्न जान्छन्, त्यसैगरी शिवजीको रथ कहिले आइपुग्छ भनी हेर्न लागे ।

हे अगस्त्य मुनि ! उता नन्दीश्वर आदि गणहरूले पनि पश्चिम सागरका शिरो भागमा रहेका अनेकौं ध्वजा पताकादिले युक्त भएको सुमेरु पर्वत झैं त्रिपुरलाई देखी सिँहनाद गर्न थाले । देदीप्यमान कुठार लिएका चण्डेश्वर, ठूलो मुख बाएका प्रचण्ड, प्रमथादि गणका अघिअघि त्रिशूल हातमा लिएर शिवतुल्य पराक्रम गर्दै अघि आए । शङ्कुनायक पनि मुसल हातमा लिएर उनका पार्श्वभागमा उभिए । आ–आफ्ना आयुध बज्र, त्रिशूल, गदा, परिध आदि लिई नन्दी, भृङ्गी, वीरभद्र आदि अनेक गण पनि युद्धका निम्ति अगाडि आए ।

यता दैत्य गणहरू पनि महादेवको रथ आएको देखी युद्ध गर्नलाई अनेक प्रकारका दिव्य आयुधहरू लिई शिवगणहरूसँग क्रोधका साथ युद्ध गर्न लागे । त्यस बखतमा महादेवको त्रिपुर भष्म भएजस्तै देखी हास्य गर्दै सिंह गर्जे झैं गर्जी युद्ध गर्न लाग्नु भयो । नन्दीले महाकाली दैत्यगणहरूसँग युद्ध सुरु गरे । भृङ्गीले विद्युतप्रभमाथि दश वाण छोडी भेदन गर्दा उसले पनि राताराता आँखा पारी शिलाले ठोक्यो, तर भृङ्गीलाई केही भएन । त्यसपछि भृङ्गी र रिटीले विद्युतप्रभका ढाडपट्टि प्रहार गरे अनि उसले पनि पूर्ण हुङ्कार गर्दै भृङ्गी र रिटीलाई प्रहार गर्यो । त्यो प्रहारको वेदना सहन नसकी ती दुबै त्यहाँबाट हटे । जब विद्युतप्रभले तिनीहरूलाई जित्यो, त्यसपछि गणनायक गणेशका काँधमा एकहजार वाण छोड्यो र वेध गराई अरु दश वाण पनि छोडी उनका मर्म मर्म ठाउँमा घाउ पारी वेदना गरायो । आफूलाई मर्माहत गराएको देखी रिसले आकुल भएका गणेशजीले पनि आफ्नो सुँड विद्युतप्रभका गर्दनमा पसारी बेरेर मत्ता हात्तीले कमलको फूललाई सुँडमा बेरेर तलाउबाट उखेलेर फ्याले झैं त्यो दैत्यको शिर पनि चुँडाएर फ्याँकिदिनु भयो । दैत्यका शरीरबाट चुँडिएका शिरको शोभा सरोवरबाट उखेलिएको र हात्तीका दाँतमा अड्किएको कमलको फूलको जस्तै भयो । त्यो देखेर भृङ्गीले नाना तरहका गानाहरू गाए । यसरी हर्ष मनाएको देखी नेमी र बल नाम गरेका दुई दानव वीरहरूलाई झन् रिस उठ्यो र गणेशजीका मर्मस्थानहरूमा वाणले हानी घाउ गराउन लागे । शङ्कुकर्ण अघि सरेर ती दैत्यहरूलाई बीचैमा रोकी तिनका रथ, घोडा, सारथी, ध्वजा आदि काटी रथहीन बनाइदिए । फेरि अर्को रथमा चढी आई ती दुई दानवहरूले चण्डेश्वर गणेशजीका मर्म मर्ममा अर्कोपल्ट पनि हजारौं वाणहरू हानेर घाउ नै घाउ बनाइदिए ।

क्रोधले चूर भएका गणेशजीले पनि लाललाल आँखा पारी डरलाग्दो मुसलले हिर्काई दुबैलाई मारिदिनु भयो । त्यहाँ उप्रान्त त्रिपुरवासी मुख्यमुख्य दैत्यहरू अति क्रुद्ध भएर बराबरका समूहमा आएर नाना प्रकारका चक्र, बज्र, त्रिशूल, भाल, मुङ्ग्रा आदि लिई महादेवका गणहरूमाथि प्रहार गर्न लागे । शिवजीको आज्ञा पाएका शिवगणहरू पनि उन्मत्त सिंहले वनका मृगादि अरु पशुहरूलाई जसरी हिर्काउँछन्, त्यसैगरी दैत्य दानवहरूका सैन्य समूहहरूलाई हिर्काउँदै छिन्नभिन्न भएको बादल र वज्रका चोटले चकनाचूर भएका पर्वतहरूमा टुप्पा झैं दौडधूप र भागाभागले दैत्यहरू पश्चिम समुद्रमा गएर पर्न लागे । नेमी र बल नाम गरेका दैत्यहरूलाई शङ्कुकर्ण गणनायकले मारे भन्ने कुरा जब दैत्यहरूले सुने, तब अति क्रोधित भएर तारक दैत्य आफ्ना पुरबाट निस्किएर गणनायकहरूमाथि झम्टिएर अनेकौं वाण बृष्टि गरायो । गणनायक शङ्कुकर्णले पनि त्यस महाबली दैत्य तारकका शिरमा बज्र प्रहार गरी सिंहनाद गरे । चोट खाई रिसले आगो भएको तारक दैत्यले पनि लडेका ठाउँबाट उठी शङ्कुकर्णमाथि चक्रको प्रहार गर्यो । गणेश्वर शङ्कुकर्णले पनि वेदना खप्न नसक्ने खालको मुड्कीले दैत्यलाई हाने । कठोर मुड्की खाएको दैत्य मूर्च्छा भई भूइँमा गिर्यो र हातमा भएको आयुधलाई त्यागी पीडा सहन नसकी सदाका निम्ति बिदा भयो ।

यस्ता प्रकारसँग मृत्यु भएको देखी हतारहतार अरु दानवहरूले उठाएर मय दानवका भवनमा पुर्याई सबै हाल बताई अनेक तरहसित आलापविलाप गर्न लागे । ती रुँदै गरेका दानवहरूलाई दैत्यराजले भन्यो – हे दानवादि हो ! मेरा घरभित्र अमृतकुण्ड छ । त्यसमा मरेका दैत्य दानवहरूलाई लगी चोबेर बचाऊ । मयको यो आज्ञा सुनी प्रसन्न हुँदै अमृतकुण्डमा लगी डुबाई तारकासुरलाई बचाए । साथै अरु मरेका सबै दैत्यहरूलाई पनि बचाए र मय दानवलाई सबैले शिर निहुर्याई प्रणाम गरे । केही समयपछि अमृतमा चोबेर बाँचेको त्यो तारकाक्ष बडो तेजका साथ फेरि रणभूमिमा आई ललकार्यो । यो देखी बाँया हातले ब्रह्माजीले त्यसलाई देखाई महादेवसित भन्नुभयो -स्मरहर ! हे महादेव ! त्यो दैत्य अघि यही रणभूमिमा मरेको थियो, अहिले बाँचेर आएको छ । हे देवदेव ! मयका घरभित्र अमृतकुण्ड भएकोले उसले मरेका दैत्य दानवहरूलाई बचाउँछ । जति मरेपनि अमृत रहेसम्म बारबार बचाउने छ । यसकारण वाण प्रहार गरेर त्यो अमृत शोषण नगरेसम्म यी मर्ने छैनन् । ब्रह्माजीबाट यो कुरा बुझेपछि श्री महादेवले वाण प्रहारद्वारा अमृत शोषण गर्नुभयो ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां ब्रह्माण्डवर्णनं नाम पञ्चमोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

  • २१ पुष २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech