• १० मंसिर २०७७, बुधबार
स्वस्थानी व्रतकथा, भाग – ६ (सतीदेवी यज्ञाग्नि प्रवेश वर्णन)
  • स्टुडियाे संवाददाता

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।।
ॐ यं व्रह्मावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैः स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानीपरमेश्वर्यै नमो नमः।।

कुमारजी आज्ञा गर्नुहुन्छ । हे अगस्त्य मुनि ! एकदिन दक्ष प्रजापतिले आफ्नी स्त्री विरणीसित भने – ‘हे विरणी ! अश्वमेध यज्ञ गर्ने हाम्रो जुन इच्छा छ, त्यसका निम्ति अब सामग्री जुटाउने उपाय गर । महादेव र सती बाहेक त्यस यज्ञमा अरु छोरी र ज्वाइँहरू ब्रह्मा, विष्णु, इन्द्र, ऋषि, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा र दश दिक्पालहरू समेतलाई निमन्त्रणा गर्न पठाउने काम पनि गर ।’ आफ्ना पतिको यस्तो इच्छा र आफूलाई दिएको आज्ञा अनुसार दक्षपत्नी विरणीले यज्ञमा चाहिने सम्पूर्ण सामग्री जुटार्इन् । अनि बोलाउनु पर्ने जतिलाई पतिको आज्ञा अनुसार निमन्त्रणा पठार्इन् ।

दक्ष प्रजापतिका तेत्तीस कोटि छोरी र तेत्तीस कोटि ज्वाइँहरू नाना वस्त्रालङ्कार र गहना लगाई यज्ञमा सहभागी हुन मणिमाणिक्यादि नानाथरीका द्रव्य र कोशेलीहरू लिई आउन थाले । जस्तै नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी, भूत, प्रेत, पिशाच, पार्थ आदि गणले शोभायमान भएको शिवजीको सभामा जसरी शिवजीले शोभा पाउनु हुन्छ त्यसै गरी तेत्तीस कोटि छोरी र तेत्तीस कोटि ज्वाइँ ब्रह्मा, विष्णु, इन्द्र, ऋषि, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा र दशदिक्पालहरू समेत एकत्र भई मणिमाणिक्य रत्न नानाथरीका वस्त्र गरगहना पहिरिएर अनेक प्रकारका नाच, गीत, वाद्य गरी मङ्गलको पूर्ण कलशले सहितको यज्ञमा अवर्णनीय शोभा हुन गयो ।

यसप्रकारको यज्ञको आनन्ददायी समयमा को को आए ? को को आएनन् ? भनेर नारद मुनि एताउती हेर्दै हिँड्न थाले । त्यहाँ उनले तेत्तीसकोटि देवतासहित ब्रह्मा, विष्णु, इन्द्र, ऋषि, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा र दश दिक्पालहरू सबैलाई देखे तर महादेव र सतीदेवीलाई भने देखेनन् । ‘कुनै पनि यज्ञ महादेवको अाह्वानविना पूर्ण हुँदैन भने दक्ष प्रजापतिको यज्ञ कसरी पूर्ण होला ? निमन्त्रणा गर्न भुल्नुभयो वा पठाएको निमन्त्रणा पुगेन, विचार गर्नुपर्यो’ भनी त्यहाँबाट अन्तर्ध्यान भएका नारद मुनि तत्काल कैलाशका निम्ति प्रस्थान गर्दा भए ।

वहाँ श्री महादेवजी र सतीदेवी जुवा खेल्न लाग्नु भएको थियो । महादेवजीले सतीदेवीलाई भन्नुभयो – ‘हे प्रिये ! आज हामी जुवा खेलौं । पासा ल्याऊ ।’ सतीदेवीले पनि ‘हवस्’ भन्नुभयो । अनि पासा ल्याई शिव र सती जुवा खेल्न लाग्नुभयो । निकैबेर खेलेपछि सतीदेवीको जित भयो र सतीदेवीले महादेवलाई गिज्याउन थाल्नुभयो । महादेवलाई रिस उठ्यो र दाउमा झोली थाप्नुभयो । सतीदेवीले पासा हानेर त्यो पनि जित्नुभयो । झन् रिसाएका महादेव प्रभुले त्रिशूल र डमरु थाप्नुभयो । त्यसमा पनि सतीदेवी कै जित भयो । त्यसपछि महादेवले नागरुपी गहना दाउमा थाप्नु भयो, तर त्यो पनि वहाँले हार्नुभयो । ठीक त्यसैबेलामा दक्ष प्रजापतिका निम्तारु देवताहरू आफ्ना विमान चढी मीठामीठा वार्तालाप गर्दै आकाशमा उडिरहेका थिए । तिनीहरूलाई देखेर सतीदेवीले महादेवसित सोध्न लाग्नुभयो :– ‘हे भुवनेश्वर ! ती विमानमा जानेहरू को हुन् ? आज्ञा हवस् ।’ यस्ता सतीदेवीको कुरा सुनी ‘तिमीलाई के चासो पर्यो ? आफ्नो चाहिँदो धन्दा गर ।’ भनी महादेवबाट आज्ञा भयो ।

केहिछिनपछि महादेवले अलिअलि हाँस्दै आफ्नो मुकुट जुवामा थाप्नुभयो । उत्तिनै बेला पासा हानेर जितेर सतीदेवीले भन्नुभयो – ‘हे स्वामी ! हजुरका सबैथोक मैले जितिसकेँ, लौ अब के थापिबक्सन्छ ?’ यो सुनी ‘लौ त आफ्नो अङ्ग नै जुवाको खालमा थाप्छु’ भन्नुभएपछि सतीदेवीले भन्नुभयो – ‘हे नाथ ! अघिपछि जहिले भएपनि हजुरको अङ्ग मेरै हो । मैले के जितिरहनु पर्ला र ? क्यै गरी मैले हारेँ भने त हजुरका अङ्गका सट्टामा कुन कुरा टक्र्याउँला ? यो सम्पूर्ण विश्व ब्रह्माण्डमा हजुरका अङ्गको सट्टामा दिने कुनैपनि वस्तु छैन । जुवामा हजुरको अङ्ग जिती जिती मैले आफ्नो बनाइरहने कामै छैन । त्यो शुभ लग्नका समयमा मेरा बाबा महतारीले तिल–कुश–जल सहितको मेरो हात हजुरको हातमा राखी कन्यादान दिएकै दिन हजूरको र मेरो अङ्ग एकआपसमा आफ्नै भइसकेको छ । हजूरको अङ्ग मेरै हो । मेरो अङ्ग हजूरकै हो । सतीदेवीका यी घतलाग्दा कुरा सुनेर महादेवले प्रसन्न भएर हे सती ! तिमी धन्य रहिछौ भनी जुवा खेलिसकेर मीठामीठा वात मार्दै कैलाशपुरीमा रहनुभएको थियो । त्यसै बखतमा देवर्षि नारदजी पनि टुप्लुक्क आइपुगे र महादेव तथा सतीदेवीका चरणमा साष्टाङ्ग दण्डवत गरी अञ्जली बाँधी खडा भए ।

महादेव कस्ता थिए भने जटाको मुकुट गराई, बाघको छालालाई कम्मरमा पटुका झैं बाँधी, हात्तीको छाला ओढी, शरीरमा खरानी घसी, सर्पहरूलाई माला बाजु र बाला बनाई, नरमुण्डको माला लगाई, चन्द्रको मुकुट झलमल्ल गरी, शिरमा गङ्गा र सतीदेवीलाई काखमा लिई , कोटिकोटि सूर्यको जस्तो तेजले युक्त रही, भूत–प्रेत–नन्दी–भृङ्गी आदि द्वारमा राखी, आफू अग्ला आसनमा विराजमान हुनभएका महादेव प्रभुलाई देख्नु भएका नारद मुनिले मनमा ठूलो आनन्द मानी बारम्बार प्रणाम गर्नुभयो ।

आफ्नो स्वरूप हृदयमा राखेर हृदयमा भक्ति पुर्याउन सक्ने नारदजीको आफूमाथि भएको ठूलो भक्ति र प्रेम देखेर प्रसन्न हुनुभएका महादेवबाट आज्ञा भयो – ‘हे वीणापाणि नारद ! तिमीदेखि म प्रसन्न भएँ, आफ्ना मनोकामना अनुसारको वर माग ।’ यस्तो सुनेर हर्षले गदगद भएका नारद केही बोल्न नसकी खडा भइरहे । यो देखेर ‘के कारणले आयौ नारद ?’ भनी महादेवले सुध्याउनुभयो । त्यसपछि नारदले दुबै कर जोडी विन्ती गरे – ‘हे प्रभु ! मेरो चित्त हजूरका ध्यानमा सदासर्वदा लागिरहोस् । यही एकमात्र वर माग्छु । हे परब्रह्म ! अब म यहाँ आउनाका कारणको निवेदन गर्दछु । हे प्रभु ! दक्ष प्रजापतिका घरमा हुन लागेको अश्वमेध यज्ञमा स्वर्ग, मर्त्य र पाताल तीनै लोकका देवता, ऋषि, नाग, अष्टवसु, दशदिक्पाल, ब्रह्मा, विष्णुसहित सबै स्त्रीपुरुषहरू आएका छन् । त्यो यज्ञशालामा गई प्रदक्षिणा गरी हेर्दा जगतका मातापिता तपाईंहरू दुबैलाई मैले देखिन । अरु सबै देवताहरू आआफ्ना अङ्गसहित भएर खानपिन गरी आनन्द मनाइरहेका छन् । यज्ञका मुख्य स्वामी तपाईंलाई किन निम्तो भएन ? यस कुरामा मेरा मनमा ठूलो विष्मय उठेकोले यो कुरा बिन्ती विसाउन आएको हुँ । हे शङ्कर ! हे सती ! तपाईंहरूलाई त्यहाँ नडाकेको अर्थ मैले केही नबुझेकोले यो बिन्ती बिसाएको छु ।’

नारदका कुरा सुनी सतीदेवीले आफ्नो ठूलो अपमान भएको ठानी त्रैलोक्यनाथ महादवसित दुःख पोख्न लाग्नुभयो – ‘हे प्रभु ! हे जगदीश्वर ! मेरा बाबा दक्ष प्रजापतिले ब्रह्मा, विष्णुसहित तेत्तीस कोटि देवता ऋषि, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा, दैत्य, अष्टवसुआदि एवं मेरा बहिनीहरू र तिनका पतिहरूसहित दश दिक्पालहरू सबैलाई डाक्दा हामी दुईलाई मात्र किन डाकेनन् ?’ यस्तो बिन्ती गर्दै सतीदेवीले आँखाबाट भलकभलक आँसु खसाउन थाल्नुभयो । यस्ता रीतले गरेको सतीदेवीको विलाप सुनी महादेवले सम्झाउन लाग्नुभयो – ‘हे प्रिये ! मनमा कत्ति पनि पीर नलेऊ । किनभने तिमी नरुचाएकी छोरी र म मन नपरेको ज्वाइँ । डाकेनन् त, अब कसो गरुँ ? यस कुरामा तिमीले आफ्नो अपमान भएको नठान । जान देऊ यस्ता कुरा ! तिम्रो म छँदैछु । कुनै सन्देह नगर । त्यसको यज्ञमा गएर हामीले के पाउनु छ र ?’

महादेवले यसरी सम्झाउँदा पनि सतीदेवीले नमानी धेरै नै ढिपी गरी पतिका पाउमा परी बिन्ती गर्न लाग्नुभयो – ‘हे स्वामी ! आज्ञा पाए नारदका साथ लागी गएर यज्ञशाला एकपटक हेरेर मात्र भए पनि फर्की आउने थिएँ ।’ यो सुनी महादेवले फेरि सम्झाउन थाल्नुभयो – ‘हे प्रिये ! किन यत्ति साह्रो हत्ते र हठ गरेकी ? तिमी आफ्नो विशेष मानमा रहेकी छ्यौ । वहाँ गएपछि तिम्रो अपमान होला । मन दुख्ला । जाने काम नगर ।’ यसरी सम्झाउँदा पनि नमानी नारदजीका साथ लागी सतीदेवी जानुभयो र केही बेरमैं दक्ष प्रजापतिका यज्ञमा पुग्नुभयो र आफ्ना बाबामहतारीलाई ढोगी यज्ञका चारैतिर आँखा पुर्याउनु भयो । त्यो यज्ञको चहलपहल र सबै आफन्तहरूका चालामाला देखी मनमा धेरै औडाहा लिएर सतीदेवीले आँखाबाट आँसु झार्दै भन्नुभयो – ‘हे बाबाआमा ! तपाईंहरूको यत्रो ठूलो यज्ञमा किन हामीलाई खबर दिनु भएन ? म चाहिं तपाईंहरूकी छोरी होइन कि कसो ? मेरो विराम के थियो ? मेरा पतिले के विराम गर्नुभयो ? ब्रह्मा, विष्णु र इन्द्र आदि तेत्तीस कोटि देवता ऋषि, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा, दैत्य, अष्टवसुआदि तथा मेरा बहिनीहरू र तिनका पतिहरूसहित दश दिक्पालहरू सबैलाई डाक्दा हामी दुईजनालाई मात्र किन डाक्नुभएन ?’

सतीदेवीले फेरि दक्षप्रजापतिसँग भन्नुभयो – ‘फेरि यत्रो ठूलो यज्ञका मूल स्वामी महादेव नभएको यज्ञको पूर्णाहूति कसरी होला ? यज्ञका फलदाता नै महादेव होइबक्सन्छ । सम्पूर्ण देवताहरूका नायक पनि वहाँ नै अनि सृष्टि, स्थिति र संहारकर्ता पनि वहाँ नै होइबक्सन्छ । हे पिता ! महादेवको आवाहन नभैकन गरेको यज्ञबाट कुनै धर्म हुँदैन । यज्ञकर्ता मालिकविनाको यस्तो अशुद्ध यज्ञ किन गर्नुभयो ? यसबाट तपाईंको भलो हुने छैन । यसकारण महारुद्र प्रभुलाई झट्टै डाक्ने काम होस्, अनिमात्र यज्ञ सफल होला, फल मिल्ला । हे पिता ! शङ्कर नभै कुनै पनि यज्ञ पूर्ण हुँदैन । यस ब्रह्माण्डका दुईवटा शङ्कर छन् र ? तपाईंले कुनै एउटालाई मात्र बोलाएको हो कि ? म ता एकमात्र शङ्कर हुनुहुन्छ भन्ने ठान्दछु, जो अहिले कैलाशमा नै हुनुहुन्छ ।’

सतीदेवीका मुखबाट यस्ता वचन सुनी दक्ष प्रजापतिले भने – ‘हे छोरी ! तेरो पति महादेव यो यज्ञमा राख्न योग्यको नभएकोले मैले डाकिन । यस कुरामा तँ दुःख नमान् । हे पुत्री ! तँबाट कुनै अपराध भएको छैन । विवाह हुनुअघि तैंले हाम्रो धेरै हेरचाह गरेर हामीलाई खुशी तुल्याएकी थिर्इस् । तापनि तेरा स्वामीका कारणले तँलाई डाक्न नपठाएको हुँ । सृष्टि गर्ने, स्थिति गर्ने अनि संहार गर्ने र यज्ञको समस्त फल दिने पनि श्री महादेव हुन् भन्ने जुन तेरो भनाइ हो, त्यो ठीक कुरा होइन । महादेव ता बाैलाहा हो । सृष्टिकर्ता ब्रह्मा तथा स्थिति र संहारकर्ता नारायण हुन् । यज्ञका फलदाता पनि नारायण हुन् । त्यो महादेव देवता होइन । त्यसलाई नडाकेर मेरो यज्ञ कसरी अशुद्ध होला ? यसकारण तेरा स्वामीलाई म कसैगरी भएपनि डाक्ने छैन । ब्रह्मा, विष्णुजस्तादेखि लिएर सम्पूर्ण तेत्तीस कोटि देवताहरू यहाँ आएका छन् भने मेरो यज्ञ कसरी निष्फल हुन्छ ? त्यो महादेव आएर के वर देला ?’

यस्ता प्रकारले आफ्ना पिता दक्ष प्रजापतिका मुखबाट आफ्ना स्वामी जगदीश्वर महादेवजीको सहन नसकिने, भन्न नहुने, सुन्न नहुने, क्षुद्र वचन र निन्दा गरेको सुनी सतीदेवीले घोरअपमान सहन गर्न नसकी लाललाल नेत्र पारी सर्पले फणा लिए झैं सुस्केरा हाली, दाह्रा किटी, रिसले उठेर भूइँमा लात्तले हानी यज्ञतिर हेरी छातीमा मुड्कीले हानी ‘हे शिव ! हे शिव !! हे शिव !!!’ भन्दै महादेवको नाउँ लिई यज्ञकुण्डमा फाल हाली प्राण त्याग्नुभयो र पर्वतराज हिमालयकी पत्नी मेनकाका गर्भमा गएर वास गर्नुभयो ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां ब्रह्माण्डवर्णनं नाम षष्ठोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

  • २२ पुष २०७४, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech