• ३ आश्विन २०७७, शनिबार
कथा – गुलाफ र उनी
  • बसन्त चौधरी

टकटक गर्दै उनी गएको सङ्केतस्वरूप बजेको जुत्ताको आवाज बिस्तारैबिस्तारै वातावरणमा बिलाउँदै गयो । पूर्णरूपमा फक्रेको कमलको फूलजस्तो उनको मुस्कान भने यतै कतै छरिइरह्यो मेरो कोठाभरि, अझ उज्यालो आभा बनेर । मुस्कानको मीठो आलोकमा म मुस्काइरहेको थिएँ उनले हातमा राखिदिएको औषधी र रातो गुलाफ बोकेर । म फूलको सोखिन, उनी जब पनि हरेकपटक एउटा ताजा गुलाफ उनको हातमा हुन्थ्यो मेरा लागि । जसबाट सुन्दरताको दिव्यता र हलुका सुवास पोखिइरहेको हुन्थ्यो । अनौठो नाता थियो गुलाफसँग मेरो । कति चाँडै बितेछन् दिनहरू मलाई गुलाफको बानी परेका पनि । कति चाँडै दशकौँ बितेछन् उनी मेरो जीवनको अङ्ग भएको पनि ।

उनीसँग जन्मको नाता थिएन, न त कुनै साइनो नै थियो । संसारमा मानिससँग गाँसिने बन्धनहरू अचम्मका हुँदारहेछन् । थाहा नहुने, कुन मोडदेखि कोही अपरिचित कसरी सबैभन्दा नजिकको आफन्त बन्छ, हृदयसँगै एकाकार भएर । नातामा केही नपरे पनि उनी थिइन् त मेरी छोरीजस्तै । जीवनका ३५ वसन्तअघिदेखि अहिलेसम्मका सबै अवधिभरि नै उनी मेरो जीवनको महत्वपूर्ण र सुखद पाटो बनिन् । त्यस बेला मैले ३५ वसन्त पार गरिसकेको थिएँ । सम्पन्नता र वैभवको प्रवाहमा जीवन सजिलोसँग बहेको थियो । उमेरमा अलि उरन्ठेउलो रहे पनि २० वर्षपछि ममा परिपक्वता आइसकेको थियो । यद्यपि यौवनको लहडमा पनि मैले कसैलाई खराब असर पर्ने काम गरिनँ र दुःख दिने कुनै काम पनि गरिनँ । विवाह गरेको १० वर्ष बितिसक्दा पनि मेरा कुनै सन्तान भएनन् । अस्पताल नगएको होइन, डाक्टरहरूसँग सल्लाह नगरेको होइन । जाने र बुझेजति सबै उपाय गर्दा पनि मैले सन्तानको सुख पाएकै थिइनँ ।

मेरी आमा सारै आस्तिक, भग्वानलाई धेरै मान्ने । पटकपटक आमा मलाई भन्नुहुन्थो– “सुयश ! तिमी सधैँ मन्दिर जाने गर न, ईश्वरको घरमा सबथोक छ, तिमीले निराश हुुनु पर्दैन । आमा घरमा सधैँ पूजा गर्नुहुन्थ्यो, फेरि किन मन्दिर जा भन्नुहन्थ्यो । योचाँहि बुझ्दिन थेँ । म पनि पनि भगवान्प्रति पूर्ण आस्थावान थिएँ तर सधैँ मन्दिर जान भ्याउन्नथेँ । आमा मेरो सर्वस्व हुनुहुन्थ्यो देवीसरह नै । त्यसैले आमाको कुरा नकार्न मनले मानेन । अनि अफिस जाँदा प्रत्येक बिहान र घर फर्किंदा प्रत्येक साँझ मन्दिर पस्ने मेरो दिनचर्या बन्यो । बिहान मन्दिर शीतले भिजेका ताजा फूलहरूले सजिएको हुन्थ्यो । मगमग धूपबत्तीको सुवाससहित एक किसिमको उत्साह र शान्ति प्राप्त हुन्थ्यो वातावरणमा । साँझ ओइलिएका फूलहरू उदास र निन्याउराझैँ लाग्दथे । एक किसिमको उत्साहविहीनताले वातावरण बोझिलझैँ हुन्थ्यो । मन्दिर–दर्शन दिनदिनै मेरो नित्य कार्यक्रम बन्यो– बिहान–बेलुका जाँदा–फर्कंदा । तर सधैँ बिर्सन्थेँ भग्वानसँग कामना गर्न चाहिँ । करिब १५ दिन भइसकेको थियो म मन्दिर जानथालेको । पुजारी, सधैँ आउने भक्तजन, फूल बेच्ने व्यापारी र माग्न बस्नेहरू परिचितझैँ भैसकेका थिए । मन्दिरपरिसरमा पुगेदेखि मुस्कान नमस्तेको प्रतिउत्तर सबैलाई फर्काएर म नतमस्तक हुन्थेँ ईश्वरको प्रतिमासामु ।

भर्खरै शरद् ऋतुको आगमन भएको थियो । चिसोचिसो बिहानमा मुखबाट तातो वाफ निकाल्दै जाडोको स्वागत हुँदैथियो । चाडपर्वहरूको मध्य थियो । जताततै चहलपहल, भीडभाड र एक किसिमको उत्साह थियो वातावरणमा । एक दिन बिहानैदेखि विसन्चो महसुस भैरहेको थियो । ओच्छ्यानबाट उठ्नै मन थिएन । तैपनि किन हो मन्दिर जान मन लाग्यो । त्यसैले तयार भएर हिँडेँ । त्यस दिन दर्शन गरिसकेपछि म निस्कन लागको मात्र थिए, अलिक पर मन्दिरको एउटा पेटीमा एक सात वर्षजतिकी बालिका गालाभरि जाडाको प्रतिकार गर्दै आङभरि काँडा उमारेर थोरै टाउको निहुराएर दुवै हात जाडोले गर्दा बाँधेर कक्रक्क परेर बसेको देखेँ । पहिले त मैले उनलाई कहिल्यै देखिनँ या वास्ता गरिको थिइनँ । उनी स्याँक्कस्याँक्क गर्दै सिरेटो गर्दा नाकका दुवै छिद्रबाट निस्केको सिँगानलाई भित्र तान्दै, त्यहाँ आउने प्रत्येक मान्छेलाई पालैपालो नियाली रहिथिन्, ती मुहारमा केही भेटिन्छ कि भन्ने आशाले । उनको यो टिठलाग्दो अवस्थाबाट द्रविभूत भई मलाई उनलाई केही दिऊँ जस्तो लाग्यो र खल्तीबाट १० रूपैयाँको नोट झिकेर दिदैँ हाँस्दै भनेँ– “लेऊ, यो तिमीलाई ! गह्रौँ मनले हात बढाएर लिऊँ कि नलिऊँको भावमा बिस्तारै हात पसारेर त्यो नोट लिइन् । र कलेँटी परेका आफ्ना ओठहरूले एक पिक्का मुस्कान फ्याकिन्, बाध्यतावश जबरजस्ती हाँसोजस्तो । एक रूपैयाँको लागि केटाकेटी परसम्म पछ्याउँदै आउँछन् तर उनलाई १० रूपैयाँमा पनि प्रलोभन नभएजस्तो भान हुन्थ्यो । झप्पझप्प परेलीका बीच ठूल्ठूला आँखा, किञ्चित कचेरायुक्त सुन्दर गोलो मोहडामा ओठनेर एक हलुका कोठी । यति नै देखेँ मैले त्यो दिन, त्यस अवोध बचपनको सँघारमा मौन उभिएकी ती सानी नानीमा ।

त्यो १० रूपैँया दिएका दिनदेखि प्रायः उनी कहाँ छिन भनेर खोज्ने मेरो सधैँको काम नै भयो । प्रायशः उनी मन्दिरको वरिपरि हुन्थिन् । मलाई देखेर छेउछेउ आउँथिन्, नपत्याउँदो आशाले सायद उनलाई मतिर धकेल्थ्यो । म सधैँ उनलाई खोजीखोजी पैसा दिन्थेँ र उनी सधैँ ओठ मात्र हँसाएर कृतज्ञताको मौन उत्तर दिन्थिन् । कहिले बिहान त, कहिले बेलुका दिनमा एकदुईपटक नै उनीसँग भेट हुन्थ्यो र उनीसँग भेट्न मलाई बानी परेको थियो । अदृश्य डोरीले बाँधिएजस्तो बन्धन थियो उनी र मेरो बीचमा । एक दिन मन्दिरमा एउटा नयाँ फूल–व्यापारीले राताराता गुलाफहरू बेच्न राखेको थियो । मलाई फूलहरू सारै मनपर्ने । त्यसमा पनि झन् गुलाफ । मैले त्यहाँ राखेजति सबै गुलाफ किनेँ– घरमा राख्छु, अफिसमा राख्छु, ताजा फूल भनेर । त्यतिबेला उनी मेरो छेउमा आएर भनिन्– “बाबा यतिका धेरै फूल किन किनेको ?” मलाई कस्तोकस्तो लाग्यो । कहीँ उनले मलाई “मेरो भागको गुलाफ पनि किनेको, खै त” भनेजस्तो आभास पनि भयो । मैले भनेँ– “मलाई गुलाफ अति नै मन पर्छ, त्यसमा पनि रातो । तिमीलाई चाहिन्छ ?” उनले ‘अहं’ भन्ने इसारामा टाउको मात्र हल्लाइन् । मैले एउटा गुलाफ उनलाई दिएँ । उनले समाएर ओल्टाइपल्टाई यसमा के छ होला यस्तो भन्ने भावले हेरिन् अनि फेरि मुस्कानले कृतज्ञता व्यक्त गरिन् । एकदुई थुङ्गा गुलाफ भग्वानमा अर्पित गरी, म आफ्नो बाटो लागेँ । अर्को बिहान उनी मन्दिरको गेटैनेर भेटिइन् हातमा ताजा, सुन्दर रातो गुलाफ लिएर । उनले मलाई गुलाफ दिँदै भनिन्– ‘यी…!’ सानी बालिकाको रूपमा आएर ईश्वरले मलाई तथास्तु भनी आशीश दिएझैँ लाग्यो । उनको सुन्दर गुलाफको सामु मैले आफूलाई शून्य र साहै्र गरिब महसुस गरेँ । आज उनलाई मैले २० रूपैयाँ दिएँ । उनले सधैँझैँ मौन मुस्कानले कृतज्ञता व्यक्त गरिन् । यसरी नित्य उनी मलाई एउटा गुलाफ ल्याइदिन्थिन् र सधैँ म उनलाई पैसा दिन्थेँ तर उनको बारेमा मलाई केही थाहा थिएन । न त मैले नै सोधेँ, न त उनले भनिन् ।

जाडो सकिन लाग्या थियो । वसन्त ऋतुले मुना, मुजुरा र पिपिरा हाल्न लागेको थियो । हावाले उडाएका परागहरू फूल बन्ने सपना कोर्दै थिए । चिसो र गर्मीबीचको एक खालको अनकूल मौसम थियो । पूर्वबाट झुल्किएका घामका कलिला किरणले सबैतिर नुहाएर सुनौलो पारेको थियो, मन्दिरको पहेँलो गजुर अझै बढी टल्किएको थियो घामको प्रकाशमा । आकाशको उत्तरतिर सेता स्फटिकजस्ता बादलका केही टुक्राहरू तटस्थ देखिन्थे । म मन्दिरमा पुग्दा कमला परै बसिरहेकी थिइन् । पूजा सक्दा पनि छेउमा आइनन् । उनी न त बोलिन, न त गुलाफ नै ल्याइन् । मेरो उनीसँगको नित्य भेटले गुलाफ र मुस्कान साटासाटको मलाई बानी नै परिसकेको थियो । उनी पर गएर ठुस्स परेर बसेको मलाई राम्रो लागेन । एकपटक मलाई हेरिन् तर कुनै प्रतिक्रिया जनाइनन् । उसैगरी हात बाँधेर रिसाएझैँ वरिपरि हेर्दै थिइन् निधारमा गाँठो पारेर । मैले पूजा गरिसकेर उनको छेउमै गएँ र भनेँ– “खै त नानु मलाई गुलाफ ?” उनीले झर्को मानेझैँ गरी किञ्चित रिसाएको आवाजमा भनिन्– “छैन ।” मैले फेरि अलिकति हाँसेर फकाएझैँ गरी भनेँ– “आज के भयो सानुलाई ?” उनले म गइहाले नि हुन्थ्यो जस्तो भावमा भनिन्– “केही पनि हैन ।” उनलाई यतिकै निरास र उदास छोडेर जान मन लागेन मलाई र नजिकैको पाटीतिर सङ्केत गर्दै भनेँ– “आऊ यहाँ एकछिन बसौँ !” उनले दिक्दारीको भावले ‘आउँदिनँ’ भनेर दायाँबायाँ टाउको हल्लाइन् । मैले जबरजस्ती उनको हात समाएर पाटीतिर लगेँ । पाटी उनलाई बसाएर आफू पनि बसेँ र सोधेँ– “नानुको नाम के हो नि ?” विषाद खेलेको उनको मुहारमा कहीँ कतै मुस्कानको एक धर्सो पनि कोरिएन । एक छिनसम्म उनी बोलिनन् । म उत्तर कुरेर उनलाई हेरिरहेँ । एक छिन पछि हावामा सुस्केरा छोड्दै भनिन्– “कमला !” “आहा कति सुन्दर नाम ! अनि कहाँ बस्छौ नि नानु ?” फेरि उत्तर आएन । अझ बढी सन्तप्तझैँ भएर क्रोधमिश्रित नयनले मतिर पुलुक्क हेरिरहिन् । सायद उनलाई भन्नै मन छैन केही पनि । म पनि केही बेरसम्म मौन नै बसेँ तर उनलाई यतिकै छोडेर जान मन लागेन । आज उनको बारेमा जान्ने प्रगाढ चाहनाले मलाई स्थिर बनायो । उनी यतिबेला मेरो मुख हेर्न पनि मन नलागेर होला सायद, एउटा छेस्कोले निहुरिएर पाटीको किनारालाई कोट्याउँदै थिइन् । घरीघरी तिरस्कारमिश्रित नयन ममा फ्याक्थिन् । मैले मायालु र मसिनो आवाजमा भनें– “कम…” उनले सुनेको नसुनेझैँ गरी अझ बेस्सरी काठ कोट्याउन थालिन् । मैले उनको वेवास्तालाई बुझेर झकझकाउँदै भनेँ– “कमला कहाँ बस्छौ ? तिम्रा आमा–बा कहाँ छन् ? किन यसरी …?” मेरा असङ्ख्य प्रश्नहरूको झटारोले बालमन विदीर्ण बनेछ । कति बेलादेखि बाँधेको बाँध एक्कासी फुट्यो । त्यो फुटेको बाँधको भेल उनका आँखाबाट भेल बग्नथाले । साउनको बादलजस्तो कालो र अमिलो भाव मुहारमा पोतियो । अनायास बगेका उनका आँसुका धारा देखेर म तर्सिएँ । आजसम्म यस्तो बालकले यति नमीठो गरी चित्त दुखाएर रोएको मैले नजिकबाट देखेकै रहेनछु । यो मेरा लागि नमीठो स्मृति बन्यो । अहिले पनि त्यो दिनको कमलाको विदीर्ण मुहार सम्झँदा मन भक्कानिन्छ । कमलाले कुनै आवाज निकालिनन् । बलिन्द्रधारा आँसुको साथमा घुँक्कघुँक्क गरिरहिन् । उनले रोकेको वेदना आवाजमा पोखेकी भए रोदनको त्यो चिच्याहटको प्रतिध्वनि टाढाको पहाडले फर्काउँथ्यो सायद । म झनै डराएँ र अत्तालिँदै भनेँ– “किन रोएकी ? आमाले गाली गर्नुभयो कि बाबाले पिटनुभयो कि तिम्रो सामान हरायो ?” मैले यो हो कि ऊ हो भनेर सम्भावनाका प्रश्न तेरेस्यास्याइरहँदा दिक्क लागेछ क्यारे, आँसुले टम्म भरिएका परेली एउटा हातले पुछ्दै नाकबाट सुँक्कसुँक्क र भित्रबाट घुँक्कघुँक्क आवाज निकाल्दै गह्रौँ र भक्कानिएको बोलीले एकै सासमा भनिन्– “आमा मरेको दुई वर्ष भयो, बा अर्की आमासँग जानुभयो, म हजुरआमासँग बस्छु ।” उनको उत्तरले मेरो पूरै शरीर चिसो भयो । छाती ढक्क फुल्यो । आकाश टाउको बज्रेजस्तो र बादलले आँखा छोपेजस्तो भयो । उनलाई मैले च्याप्प समाएर छातीमा टाँसेँ । यतिखेर मसँग सान्त्वनाको कुनै शब्द नै थिएन । मेरो सम्पत्ति, सामथ्र्य र शक्तिले भ्याउन्न थियो उनको आमालाई फर्काउन । मन तीतो भयो र भित्र नमीठो गाँठो पर्यो, मेरा आँखा पनि भिजे । एकपटक भगवान्तिर विवश नजर दौडाएर उनलाई यति भनेँ– “नरोऊ ।” योभन्दा बढी सान्त्वनाका शब्दहरू मसँग थिएनन् । त्योभन्दा बोल्ने मेरो साहस पनि भएन । मैले आफूलाई साह्रै कमजोर महसुस गरेँ । उनको वियोगपूर्ण जीवन–मर्मको सामु म असहाय थिएँ । तैपनि सय रूपैयाँको नोट हातमा राखिदिएर उनको कपाल सुमसुम्याउँदै भनेँ– “धन्य ईश्वर ! यो बालकको के दोष थियो र यस्तो अवोधको सर्वस्व लुट्यौ ? मेरो के सुन्छौ र ?” मेरो आँसु देखेर ऊ झनै रोई । ईश्वरलाई दोषी मान्दै अबदेखि कहिल्यै मन्दिर आउँदिनँ भन्ने अठोटसाथ आँसु पुछदै म फर्किएँ ।

त्यस दिनभरि अनौठो ब्यथाले मेरो मुटु चसचस गरिरह्यो । कमलाको निर्दाेष, निश्छल मुहार र आँसुमा उर्लेका वेदनामा म बगिरहेँ । हरेकपटक कोसिस गरेँ, तर बिर्सन सकिनँ । १० वर्ष अघि छोडेको चुरोट सल्काउन मन लाग्यो र धेरै धूवाँ तानेँ । कुनै स्वाद नै आएन तीतोबाहेक, हरेक सर्काेमा । राती पनि ओछ्यानमा निद्रा लागेन । ईश्वरप्रति मन कुँडिइरह्यो । धेर बेरपछि मनमा आयो– आजचाहिँ ऊ किन उदास थिई त ? उसको विगत मार्मिक छ, वर्तमानमा ऊ के गरिरहिछ ? ऊ किन आज विक्षिप्त थिई । खै त आज मलाई गुलाफ ? अनि भोलिदेखि मन्दिर जान्न भनेको मन, फेरि तुरुन्तै फर्कियो । कमलासँग भेट्ने लालसाले छटपटछटपटमा अनेकौँ प्रश्नको ओहोर–दोहोरले मन बेचैन भयो । कमलाको रुवाइको आवाज कानमा बारम्बार प्रतिध्वनित भइरह्यो । बिहान कहिले होला भन्ने व्यग्र प्रतीक्षामा म छटपटाइरहेँ र अरू दिनभन्दा छिट्टै उठेर म मन्दिर गएँ । म चाँडै पुगेछु । यताउता हेर्दा कमला थिइनन् । आज उनी आउन्नन् कि भन्ने थोरै सशंय पनि लाग्यो । पूजा सकेर म बाहिर निस्किएँ । देखेँ, परबाट कमला खुट्टा घिसार्दैघिसार्दै अल्छीपारामा आउँदै थिइन् । मलाई असाध्यै खुसी लाग्यो । मनले उत्साहले भरियो । दौडँदै गएर उनलाई अँगालो हालुँझैँ लाग्यो । पछाडि दुबै हात राखेर, निद्रा नपुगेको भावमा आएर सधैँको ठाउँमा उभिइन् । उनले म आइसकेँ भन्ने थाहा नै पाइनन् । म सरासर उनको छेउमा गएँ र भनेँ– “कमला !” उनले “आज यति चाँडो !” भनेजस्तो भाव अनुहारमा झल्काएर थोरै हाँस्दै पछाडिको हात अगाडि ल्याएर गुलाफ दिँदै भनिन्– “यी…!” उनको मलिन मुस्कानमा मैले असीम शान्तिको आभास पाएँ र भनेँ– “जौँ हिँड ! आज हामी धेरै कुरा गरौँ, रमाइलो गरौँ ।” उनी मेरो हात समाएर लुरुलुरु मसँगै आइन् । हामी हिजोकै ठाउँमा बस्यौँ । मैले उनको कपाल सुमसुम्याउँदै भनेँ– “भोक लाग्या छ ?” “अहं ।” उनले टाउको हल्लाइन् विनाआवाज । “केही चाहिएको छ तिमीलाई ?” फेरि छैनको इसारामा टाउको हल्लाइन् । अब के सोधूँसोधूँ भयो । कसरी सोधूँ– ‘हिजो किन रोएकी भनेर ?” मलाई अलमल भयो । मैले भूमिका बाँध्दै भनेँ– “हजुरआमा के गर्नुहुन्छ ?” “साहूकाँ लुगा धुनुहुन्छ ।” संक्षिप्त उत्तर । मलाई अरू कुरा सोध्न मन लागेन र भनेँ– “हिजो किन रोएको बुनु ?” “यसै !” फेरि संक्षिप्त उत्तर । हजुरआमाले गाली गह्या हो ? होइन ! फेरि छोटो उत्तर । उनको आँखाबाट हिजो बर्सेको आँसुले अहिले पनि मेरो हृदय भिजिरहेको थियो, त्यसैले मैले जिद्दी गरेपछि एकै सासमा उनले आफ्नो तीतो पोखिन्– “रिते र भिमे स्कुल पढ्न गए म एक्लै भएँ । हजुरआमा भन्नुहुन्छ उसका बा–आमा छन् र पढाउन सक्छन्” रे । “ए …!” मैले लेग्रो तानेँ । फेरि एकै छिनपछि– “तिमी पढने हो ?” मैले सोधेँ । बाल्यावस्थाको उनको इच्छा, भविष्यको आवश्यकता थियो । उनी बोल्दैनबोलेको देखेर मैले फेरि सोधेँ– “कमला तिमी पनि पढ्ने हो ?” उनले नपत्याएझैँ गरी, ‘हो’ मा टाउको हल्लाउँदै भनिन्– “तर हजुरआमासँग पैसा छैन ।”

अनि म उनको पछि लागेँ । फोहोर गल्लीको कहिले घाम नछिर्ने अँध्यारो साँगुरो बाटोको च्यापभित्र एउटा पुरानो कोठाको अगाडि उभ्याएर बोलाइन्– “आमा !” “आज पनि ल्याइस् पैसा ? किन करा हँ, भित्रै आ । म बाहिर आउन्न !” उनले आदेश गरिन् । मलाई फोहोर गल्लीको च्याप र अँध्यारोमा साह्रै अप्ठयारो अनुभव भैरहेथ्यो । दुर्गन्धले सासै फेर्न सकस भएको जस्तो, भागूँभागूँ जस्तो नि लाग्यो । तर हिलोमा फूलेकी कमलझैँ कमलाको हार्दिक इच्छा र उनको आँसुलाई वेवास्ता गर्न सकिनँ । उनको करुण अवस्थाले मलाई भाग्नबाट रोक्यो । एक बृद्धा थोरै कुप्रिएको ढाड सीधा पार्दै बाहिर आएर आश्चर्यचकित नयन ममा अड्याएर भनिन्– “को हो ? म भ्याउन्नँ लुगा धुन ।” मेरो सास रोकिइरहेथ्यो । तैपनि कमलाको उज्यालो भाव र कौतूहलपूर्ण मुहारको रङ हेर्दै संयमित भएर भनेँ– “आमा ! कमला पढ्छु भन्छिन् ।” “सक्दिनँ बा म सक्दिनँ । दुई छाकको गर्जो राम्ररी टार्न मुस्किल छ । म कमाउन सक्दिनँ, पढाउने कसरी ? यो सानै छे , काम गर्न नसके भोकै, पढछु त भन्छे नि । यसकी आमा यही मन्दिरमा फूल बेच्थी, परार मरी, यसको बाउ, !” उनका खुइय्य सुस्केरा हावामा मिसिए । “यसको बाउको के कुरा गरम् ।” उनले एकै सासमा भनिरहेका कुरा सकिन नपाउँदै मैले भनेँ– “म पढाइदिन्छु, म खर्च दिन्छु ।” उनले एक छिन सोचेर भनिन्– “बाबुको घर कहाँ नि ?” मैले आफ्नो परिचय दिएँ । कमलाको मुहारमा पहिलोपटक चहकिलो हर्ष देखेँ, त्यही अँध्यारो कुनामा समेत । कमलको फूलमाथि घामका किरणले स्पर्श गरे जस्तै उनको मुहारमा खुसीका किरणहरू छरिए । कमला मलाई बाटोसम्म पुर्याउन आइन् बसिरहेथे एक किसिमको खुसी स्फूर्ति उनको मुहारमा फूलेको थियो । “भोलि पक्कै आउनु नि !” म पढ्न जान्छु भन्ने भावका साथमा मीठो मुस्कानले विदा गरिन् । कमलाकी आमा फूल बेच्थिन् भन्दा झन् नराम्रो लाग्यो । त्यही भएर पनि झझल्कोमा, सम्झनामा, आमालाई भेट्न उनी मन्दिर सधैँ आउँथिन् । फेरि मन चसक्क भयो । आमा भन्ने नाता कति संवेदनशील छ जीवनमा ?

घरमा साँझ आमाले प्रसाद दिँदै गाला सुमसम्याएर भन्नुभयो– “सुयश ! खुसीको कुरा छ । भग्वानले तिम्रो प्रार्थना सुने । तिमी पनि पिता बन्दैछौ ।” आज मैले दोहोरो खुसी पाएँ । कमलाको मीठो मुस्कान अनि मेरो प्रार्थनाको सुनवाइ । अर्को दिन कमलालाई पढ्ने व्यवस्था गरिदिएँ ।

स्कुल गएको भोलिपल्ट कमला अत्यन्तै खुसी हुदै मेरो छेउ आइन् । आज उनले आफ्नो हर्ष स्वर्गवासी आमालाई पनि सुनाइन् होला । आज उनले एकजोडी राता गुलाफ ल्याएकी थिइन् । पहेँला दाँत देखाएर, मुस्कुराउँदै, थोरै लजाएर दिइन् अनि भनिन्– “बाबा, मैले हिजो पढेँ नि, रिते र भिमेसँगै ।” उनको प्रोत्साहित आवाजले मलाई कति आनन्द दियो, वर्णनातीत छ । रमाइलो लाग्यो । “अनि सधैँ राम्रा, राम्रा गुलाफचैँ कहाँबाट ल्याउँछौ नि ?” अगाडिको प्रश्न बिर्सिएर दोस्रोको उत्तर दिन हात पसारेर “ऊ…त्यहाँ पर पसल छ नि, त्यो मामाको पसल हो । पहिले आमाको पसल पनि त्यहीँ थियो । गुलाफ मामाले दिनुहन्छ ।” निस्फिक्रीसँग जीउ हल्लाउँदै भनिन् ।
त्यसपछि कमला मेरो जीवनको अभिन्न अङ्ग नै भइन् । प्रत्येक बिहान उनी मलाई गुलाफ ल्याइदिन्थिन् । नभ्याएको दिन पुजारीको हात छोडिदिन्थिन् । पुजारीले दिँदै भन्थे– “हजुरकी छोरीले बिहानै ल्याएर दिनु भन्या छिन् ।” म हास्दै समाउथेँ । यसरी गुलाफ र कमला मेरो दैनिकी भएका थिए । स्कुलका सात दिनपछि, साँझ फर्कंदा उनी मन्दिरमा बुरुक्कबुरुक्क उफ्रेर अति हर्षित भई खेलिरहन्थिन् । उनी यसरी उन्मुक्त भएर रमाएको मैले पहिले देखेकै थिइनँ । पहिले उनी सधैँ ठस्स परेर बस्थिन्, सोधेको उत्तर मात्र दिन्थिन् । उनीलाई देख्दा मलाई पनि सँगगँंगै उफ्रन मन लाग्यो । मलाई देख्नेबित्तिकै दौडँदै आएर मलाई च्याप्प समाउँदै भनिन्– “बाबा मैले कखग लेख्न जानेँ । गुरुमाले भन्या, मलाई चाँडै आउँछ रे पढ्न ।” उनको उन्मुक्त हाँसो र खुसी देखेर मेरा खुट्टा भुइँमै नरहला जस्तो भए । लाग्यो, उनकी आमाले पनि बतास भएर आई छोरीलाई सुमसुम्याइन् होला, मलाई कृतज्ञता दिँदै । त्यसपछि मेरी एउटी छोरी भइन् । उनको नाम मैले रोज राखेँ । जहिले पनि म रोजलाई बोलाउँथे, कमलाको मुहार सँगै आउँथ्यो । अचम्मको आकर्षण रह्यो गुलाफ र कमलाप्रति । म भग्वानभन्दा बढी कमलाको मुस्कान र उनको उपहारको प्रत्याशाले मन्दिर जान्थेँ । मैले राम्रो ठाउँमा कमला र हजुरआमाको व्यवस्था गरिदिएँ ।

पाँच क्लासमा पुगेपछि उनले मलाई ‘आयुश बाबु’ भन्न थालिन् । एकदिन मन्दिरमा एक परिचितले “ओह ! आयुश बाबु के छ खबर ?” भनेको सुनेकी थिइन् । त्यसदिनदेखि थोरै लजाएर उनी मलाई आयुश बाबु भन्थिन् । मलाई उनको सम्बोधन प्रिय थियो । उनले एकदमै राम्रो पढिन् । सधैँ स्कुल टप गरिन् । पूर्णिमाको जूनझैँ हलक्क बढिन् बिस्तारैबिस्तारै । लगन, मेहनत र इच्छाले एकदिन उनी उत्कृष्ट डक्टर बनिन् । रोज पढ्नलाई विदेश गइन् । उतै बस्छिन् । बेलाबेला आउछिन् । भेट हुँदा उनीहरू दिदीबहिनीझैँ रमाउँछन् । कमला आइरहन्छिन् । मेरा सम्पूर्ण स्वास्थसम्बन्धी कागजात सधैँ हेर्छिन् अनि मायालु स्वरमा धम्क्याउँदै भन्छिन्– “आयुश बाबा, यो भएन, त्यो भएन, यसो खाने, यो नखाने, हिँड्ने, बस्ने” आदि । म “हस् हस् बाबा” भनेर स्वीकार्छु । मसँग सबै थोक छ । पैसा, इज्जत, भौतिक सुख, सम्पन्नता सबै छन् मसँग तर कमलाको सान्निध्य र उनले ल्याएको गुलाफको महत्तव सबैभन्दा प्रिय र धेरै लाग्छ । जन्मले मात्र सन्तान हुँदैनन् । सायद भाग्यले पनि भेटिन्छन् । मैले त कमलालाई बाटो मात्र देखाइदिएँ । त्यो बाटो फराकिलो पार्ने, कसरी हिँड्ने भन्ने काम उनी आफैँले गरिन्, लक्ष आफैँ बनाइन्, बाटो आफैँ रोजिन् अनि लक्षलाई यसरी समाइन् कि उत्कृष्ट चमकले सबैका आँखा तिरमिराए । म प्राय मन्दिर सधैँ जान्छु उनी पनि भ्याउँदा सधैँ आउँछिन् । हिजोआज मलाई जिस्क्याउँछिन । उनले सप्ताहमा एक दिन स्वास्थ्यशिविर राखेर निःशुल्क उपचार गर्छिन् दीनदुःखीको । कमला आमाको छविलाई भेट्छिन् होला मन्दिरमा । अनि म कमलाको स्निग्ध प्रेम र गुलाफलाई अनि सानी ठुस्स परेर बस्ने विगतलाई । उनी भर्खरै मलाई मायालु भाषामा धमक्याएर गइन् । उमेरको पहाडसँगै रोगहरू मीत भएका छन् । कुन बेला छोड्नुपर्छ संसार थाहा छैन । कुनै रहर र इच्छा पनि बाँकी छैनन् । अव एउटै इच्छा कमलालाई गुलाफझैँ सुन्दर जीवनसाथीको हात लगाउने छ । बस् यत्ति ।

  • २१ पुष २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech