• ६ आश्विन २०७७, मंगलवार
२०७७ सालमा विवाहको लगन जम्मा १८ दिन

आउँदो वर्ष कात्तिक १ गते घटस्थापना

  • स्टुडियाे संवाददाता

२०७७ सालमा  विवाहको लगन वर्षभरिमा जम्मा १८ दिन मात्र साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आउँदो असोजमा मलमास परेकाले विवाहको लगन पनि कम परेको हो । आउँदो वर्ष वैशाखमा ७ वटा, जेठ र मंसिरमा ४-४ वटा तथा असारमा ३ वटा गरी १८ वटा मात्र विवाहको लगन छ ।

वैशाख १३, १४, १९, २०, २२, २३ र २५ गते, जेठ ४, ५, १० र ३१ गते, असार ११, १३ र १४ गते तथा मंसिर १६, २१, २२ र २६ गते मात्र विवाहको लागि साइत रहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताउनुभयो । असोजमा मलमास परेको र मंसिरपछि वृहस्पति र शुक्र अस्ताउने भएकाले माघ र फागुनमा विवाहको लगन नभएको उहाँको भनाई छ । मलमासमा विवाह, व्रतबन्ध, अन्नप्रशान लगायत शुभ काम गर्न नहुने धार्मिक विश्वास छ ।

मलमासकै कारण २०७७ सालको दशैँ र तिहार पनि झण्डै एक महिना पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ ।

यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उहाँले बताउनुभयो । यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते कागतिहार, २९ गते कुकुर तिहार र लक्ष्मीपूजा, ३० गते गोबर्द्धन तथा म्हपूजा र मंसिर १ गते भाइटीका परेको छ । मलमास नपरेको बेलामा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ ।

  • ११ माघ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech